प्रचण्डको नेतृत्वमाथि शंकरको व्यङ्ग्य- ‘एमाले र कांग्रेसले नेता फेरे, माओवादीमा उही’

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लामो र अविच्छिन्न नेतृत्वकालमाथि व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । बहुदलीय व्यवस्था स्थापनापछि प्रमुख दलहरूमा भएको नेतृत्व हस्तान्तरणको तुलना गर्दै उनले माओवादी केन्द्रको आन्तरिक लोकतन्त्र र नेतृत्व विकास प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका हुन् ।
आफ्नो फेसबुक पोस्टमा महासचिव पोखरेलले बहुदलीय व्यवस्था स्थापनापछिको अवस्थालाई चित्रण गर्दै एमाले र कांग्रेसमा पटक-पटक नेतृत्व परिवर्तन भएको तर माओवादीमा प्रचण्ड नै एकछत्र नेता रहिरहेकोतर्फ संकेत गरेका छन् ।
उनले लेखेका छन्, ‘बहुदलीय व्यवस्थाको स्थापना पछि नेतृत्व निर्माणका दृष्टिले यस्तो छ प्रमुख दलको अवस्था:’
पोखरेलले आफ्नो पार्टी, नेकपा एमालेको मुख्य नेतृत्वमा मदन भण्डारी, मनमोहन अधिकारी, माधव कुमार नेपाल, झलनाथ खनाल हुँदै हाल केपी शर्मा ओलीसम्म आइपुगेको पाँच पुस्ताको नेतृत्वको दृष्टान्त दिएका छन् । त्यसैगरी, नेपाली कांग्रेसमा पनि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले नेतृत्व गरेको उल्लेख गरेका छन् ।
तर, नेकपा (माओवादी केन्द्र) को मुख्य नेतृत्वको प्रसंगमा भने उनले केवल ‘पुष्पकमल दाहाल प्रचण्ड’ को मात्र नाम उल्लेख गरेका छन् ।








