कानूनमन्त्रीले गरे सामाजिक मूल्यमान्यतामा प्रतिकुल असर पार्ने विधेयक संसदमा पेश नगर्ने प्रतिवद्धता

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाह जस्ता सामाजिक मूल्य र मान्यतामा प्रतिकुल असर पार्ने विधेयक संसदमा पेस नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बुधवार प्रतिनिधि सभाको शुन्य र विशेष समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले समाजमा नकारात्मक प्रभाव पार्ने खालका कानूनी प्रश्तावहरू अघि नबढाइने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
सामाजिक न्यायलाई खलल पुग्नेगरी कानून निर्माण गर्ने कुरामा कोही पनि सहमत हुन नसक्ने उनको भनाइ छ ।
सभाको बैठकमा सांसदहरुले बहुविवाहलाई मान्यता दिनेगरी कानून बन्न लागेको विषयमा सरकारको जवाफ माग गरेका थिए ।
सरकारले बहुविवाहसम्बन्धी कानूनी मस्यौदा तयार पारेको भन्दै समाचार प्रकाशन भएपछि सरकारको आलोचना भइरहेको छ । ‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकुल प्रभाव पार्नेगरी बहुविवाह लगायतको कुनैपनि विधेयक यस सम्मानित सदनमा पेश नहुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’ उनले भने ।
मन्त्री चौरसियाले विवाह गर्ने उमेर लगायतका केही व्यवस्था हेरफेर गर्न विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाएको उल्लेख गरे ।








