रास्वपा र राप्रपा सांसद भन्छन्ः ‘ठूला दलको दम्भका अगाडि केही लागेन, तँलाई सिध्याइदिन्छु भन्दै धम्की आए’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद एवं कुलिङ अफ पिरियड छेडखानीबारे गठित संसदीय छानविन विशेष समितिकी सदस्य रोशन कार्कीले प्रतिवेदन तयार पार्दा आफूहरुमाथि ब्ल्याकमेलिङ भएको आरोप लगाएकी छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूहरुले छानविन समितिको प्रतिवेदनमा चाहेको जस्तो निष्कर्ष निकाल्न नसकेको बताइन् । उनले भनिन्– ‘हामीले चाहेका जस्ता निष्कर्ष निकाल्न सकेनौँ । किनभने हामीले सकेनौँ । ठूला दलका सत्ताको दम्भ र बहुमतको अगाडि हाम्रो केही लागेन । तर पनि रातदिन उहाँहरुसँग लड्यौँ । तीन जनाले । विपक्षी दलमा भएकाहरुले । अन्तिमसम्म लड्यौँ ।’
ठूला राजनीतिक दलको सत्ताको दम्भ र बहुमतको अगाडि आफूहरुको केही नलागेको बताइन् । नेताहरुले पैसामा नैतिकता बेच्ने गरेको बताइन् ।
प्रतिवेदन तयार पार्ने काममा सोमवार ५ घण्टा सत्तारुढ दलका सांसदहरु हराएको उनको आरोप छ । ‘नैतिकतालाई पैसामा नेताहरुले बेच्छन् । नैतिकता भन्ने शब्दसँग ठूला दल डराउँदा रहेछन् । किनभने नैतिकता विहीन रहेछन् । सत्तासीन ठूला दलहरु नैतिकताविहीन रहेछन् । दिउँसो ५ घण्टा गायब हुनुभयो’ उनले भनिन् ।
संसदीय दलमा बैठक बसेर सांसदहरुलाई सिध्याइदिन्छु जस्ता धम्की दिएको बताइन् ।
एमालेले मुख्यसचिवलाई बचाउने प्रयास गरेको र काँग्रेसले रामहरि खतिवडालाई बचाउन लागेको बताइन् । ‘संसदीय दलमा गएर राजनीति तेरो सिध्याइदिन्छु भनेर ब्ल्याकमेलिङ गरेर धम्की दिइयो । एमालेले मुख्यसचिवलाई बचाउन खोजेको थियो,’ उनले भनिन्, ‘उहाँको नेतृत्व भ्रष्टाचारबाट डुकेको छ । गिरिबन्धु टि स्टेटमा डुबेको छ । काँग्रेसले रामहरि खतिवडा बचाउनु थियो । नैतिकताको आधारले रामहरि खतिवडाले राजीनामा गर्नुपर्छ ।’
यता, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले हस्ताक्षर कर्ताहरु स्वभाविक रुपमा जिम्मेवार हुनुपर्ने बताए ।
सरकारलाई समितिले छानविन गर्न अझै ठाउँहरु छोडिदिएको बताए । आफ्ना मान्छे बचाउन अहिले पनि लागेको आरोप लगाए । ‘राजनीतिक रुपमा हस्ताक्षर कर्ताहरु स्वभाविक रुपमा जिम्मेवार हुनुपर्छ भन्नेमा नकार्न सकिँदैन । त्यो भन्दा बाँकी भएका भागहरु सरकारले छानविन गर्नुपर्छ । त्यो बाटो देखाइदिएका छौँ । आफ्ना बचाउन सधैँ लाग्नुहुन्छ । त्यहाँ पनि प्रयास नभएको होइन’ उनले भने ।
समितिले मंगलवार सभामुख देवराज घिमिरेलाई छानविन समितिको प्रतिवेदन बुझाएको छ ।








