ग्रे लिस्टबाट बाहिर निस्कन संगठित रूपमै सघन प्रयास गरिरहेका छौं : अर्थमन्त्री

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सरकारले मुलुकलाई ग्रे लिस्टबाट बाहिर निस्कन संगठित रूपमै सघन प्रयास गरिरहेको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा संसदमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले ग्रेलिस्टबाट बाहिरिनका लागि विद्यमान दर्जनौँ कानुनलाई सुधार्नेदेखि अन्तर्राष्ट्रिय संस्थाहरूले दिएका सुझावहरूलाई कार्यान्वयनमा लगिएको बताएका हुन् ।
उनकाअनुसार सम्पत्ति शुद्धीकरण तथा व्यवसायी वातावरण प्रवर्द्धनसँग सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको कानुनले विभिन्न १९ ओटा विद्यमान ऐनहरूलाई संशोधन गरेको छ । ग्रेलिस्टबाट बाहिर मुलुकलाई छिटो ल्याउनकै लागि सम्पत्ति शुद्धिकरणसम्बन्धि नियमावली जारी गरी कार्यान्वयनमा आएको छ ।
सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी वित्तीय रणनीति तथा कार्ययोजना २०८१/८२ देखि २०८५/८६ सम्म कार्यान्वयनमा रहेको छ ।
अर्थमन्त्री पौडेलले भने ‘शीघ्र देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउन र आगामी दिनमा समेत यस्तो सूचीमा पर्न नदिन प्रभावकारी कार्यान्वयन योजना सुनिश्चित गरी निर्देशक समितिले ग्रेलिस्टबाट बाहिरिन शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण २०८२ कार्यान्वयनमा ल्याएको छ । एसिया प्यासेफिक ग्रुप एपिजीबाट प्राप्त रि रेटिङको रिर्पोटिङ ढाँचालाई प्रतिवेदन गरी फाइनान्शियल इन्टिलिजेनस युनिटमार्फत प्रतिवेदनको प्रबन्ध गरिएको छ । सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने वस्तु व्यवसायी सूचक संस्थालाई जारी गरिएको निर्देशन २०८२ कार्यान्वयनमा ल्याइएको छ । सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धीमा क्यासिनो व्यवसायी सूचक संस्थालाई जारी गरिएको निर्देशन कार्यान्वयनमा ल्याइएको छ ।’
अर्थमन्त्री पौडेलकाअनुसार मुलुकलाई ग्रेलिस्टबाट बाहिर ल्याउनकै लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बधमा घरजग्गा सूचक संस्थालाई जारी गरिएको निर्देशन कार्यान्वयनमा ल्याइएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण कानुनले गठन गरेको गठन समिति र त्यसका अतिरिक्त रणनीति तथा कार्ययोजना अवधिभरका लागि चारओटा कार्यान्वयन संयन्त्र गठन गरी समन्वयदेखि अनुगमनका कार्य भइरहेको छ । नेपाल संगठित र सघन प्रयासले निर्धारित समयअघावै ग्रलिस्टबाट बाहिर निस्कने विश्वास उनले गरे ।








