बहुविवाहलाई कानुनी मान्यता दिने विवादित प्रस्तावमाथि छलफल गर्न गृहमन्त्रीले बोलाए बैठक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकी अपराध संहितामाथि संशोधनका विषयमा छलफल गर्न विधयेक समितिको बैठक बोलाएका छन् । मुलुकी अपराध संहितामा संशोधन गरी निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने विवादास्पद तयारी भएकाे भनिएका बेला यस संवेदनशील विषयमा छलफल गर्न गृहमन्त्रीले आज (मंगलबार) विधेयक समितिको बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ९ बजे बस्नेछ। गृहमन्त्रीको सचिवालयका अनुसार, बैठकको मुख्य एजेन्डा हाल कार्यान्वयनमा रहेको ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४’ लाई संशोधन गर्ने नै रहेको छ। विशेषगरी, “केही निश्चित परिस्थितिमा” बहुविवाहलाई अपराधको श्रेणीबाट हटाएर कानूनी वैधता दिने प्रस्तावमाथि बैठक केन्द्रित हुने बताइएको छ।
यो प्रस्तावको विषय सार्वजनिक भएसँगै सरकारको चौतर्फी आलोचना भइरहेको छ। विद्यमान कानुनले बहुविवाहलाई दण्डनीय फौजदारी अपराधको रूपमा परिभाषित गरेको अवस्थामा सरकारले यसलाई उल्ट्याएर निश्चित समूह वा अवस्थालाई छुट दिन लागेको भन्दै नागरिक समाज, अधिकारकर्मी तथा सर्वसाधारणले चर्को विरोध जनाइरहेका छन् ।








