मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं । पाटन उच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको संयुक्त इजलासले प्रसाईंलाई दुई फरक मुद्दामा धरौटीमा छाड्न आदेश दिएको हो ।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रसाईंलाई २५ लाख रुपैयाँ र राज्यविरुद्धको अपराध अन्तर्गत तीनकुने घटनासम्बन्धी मुद्दामा ३ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।
तीनकुने घटनामा पक्राउ परेका अन्य चार जनालाई पनि उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । उक्त घटनामा पक्राउ परेकामध्ये सातजना अझै हिरासतमा रहेका छन् । तीमध्ये दुर्गा प्रसाईंसहित चारजनाले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए भने बाँकी तीनजनाले पुनरावेदन गरेका छैनन् ।
यसअघि तीनकुनेमा भएको झडपपछि दुर्गा प्रसाईंसहित केही समर्थकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनापछि उनीहरूलाई विभिन्न अभियोगमा मुद्दा चलाइएको थियो ।
अदालतको आदेशपछि अब उनीहरू धरौटी बुझाएर रिहा हुने बाटो खुलेको छ ।








