बहुविवाह गर्न पाउने कानूनको मस्यौदाप्रति माओवादी सांसद राईको आपत्ति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा कानूनी मान्यता दिने मस्यौदा लेखेको भन्दै आपत्ति जनाएकी छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद राईले आपत्ति जनाएकी हुन् । सरकारले हालै विषेश परिस्थितिमा बहुविवाह गर्न दिनेगरी कानूनी मस्यौदा तयार गरेको भन्दै समाचार बाहिरिएका थिए ।
विधेयकको मस्यौदामा विवाहित पुरुषलाई दोस्रो विवाह गर्न अनुमति दिने लगायत व्यवस्था राखिएको छ ।
सरकारले लैंगिक असमानता र महिला हिंसालाई प्रोत्साहन दिनगेरी कानून निर्माण गर्न लागेको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ ।
सांसद राईले बहुविवाह गर्न पाउने कानून आए महिला हिंसा बढ्ने र पुरुषहरु छाडा हुँदै जाने भन्दै उक्त मस्यौदा खारेज गर्न आग्रह गरिन् । ‘बहुविवाहलाई छुट दिनेगरी सरकार किन कानून बनाउन चाहन्छ ? जजसको स्वार्थमा ऐन बनाइँदैछ उहाँहरुलाई सोध्न चाहन्छु, आफ्नो ज्वाइँले दोस्रो विहे गरेमा स्याबास ज्वाइँ भन्न तयार हुनुहुन्छ ? नत्र महिला हिंसा बढ्ने र पुरुषहरु छाडा हुने कानून सरकारले किन ल्याउन चाहन्छ ?’ उनले भनिन् ।
उनले उक्त विधेयक मस्यौदाको निन्दा समेत गरिन् ।








