निर्माणाधीन संसद भवनको कार्यप्रगतिबारे सांसदहरू निराश : पुस १६ भित्रै सकिने छैन आधार

काठमाडौँ । सांसदहरूले निर्माणाधीन संसद भवनको काम म्याद थप भएको मितिमा समेत सम्पन्न हुन नसक्ने आशंका व्यक्त गरेका छन् ।
सोमवार निर्माणाधीन नयाँ संसद भवनको निरीक्षणका लागि पुगेको संसदीय समितिका सदस्यहरूले यस्तो आशंका गरेका हुन् । सरकारले आयोजनाको १४ औँ संशोधनबाट २०८२ साल पुस १६ गतेसम्म म्याद थप गरेको छ । तर फिनिसिङको काम जम्मा ५ प्रतिशत मात्रै सम्पन्न भएकाले अझै सकिन समय लाग्ने उनीहरूको अनुमान छ ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अनुगमन गर्ने क्रममा अझै धेरै कामहरू गर्न बाँकी रहेको सांसदहरूले बताए । समितिका सभापति मायाप्रसाद शर्माले अझै धेरै काम गर्न बाँकी रहेकाले समयमै सम्पन्न हुनेमा शंका व्यक्त गरे । अब म्याद पुनः थप्ने गरी काम हुनु नहुने भन्दै निर्माण कम्पनीको ध्यानाकर्षण गराए । काममा धेरै नै ढिलासुस्ती भइरहेको आरोप लगाए ।
उनले भने ‘पुस १६ गतेसम्मको लागि म्याद थप भएको रहेछ । अब समयमै सम्पन्न हुन्छ की हुँदैन ? अझै काम धेरै बाँकी छ । फिनिसिङको काम ढिलो हुन्छ, धेरै बाँकी छ । अब म्याद थप्ने गरी नहोस् । क्रमिक रूपले काम भइरहेको छ । तर ढिलासुस्ती छ ।’
नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमल्सिनाले पटक पटक म्याद थप भए पनि काम सन्तोषजनक नरहेको बताइन् । उनले अझै समयमै काम सम्पन्न हुनेमा आशंका व्यक्त गरिन् ।
उनले भनिन् ‘नयाँ संसद भवनको निरीक्षण र अवलोकनका लागि हामी आएका छौँ । यो पटक पटक आयौँ । तर प्रगति सन्तोषजनक छैन । पुस १६ गतेसम्म पनि सकिएला जस्तो लाग्दैन ।’
नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले अझै काम सकिन दुई वर्ष लाग्ने देखिएको बताए । फिनिसिङको काम जम्मा ५ प्रतिशत मात्रै भएको उनको भनाइ छ । उनले भने ‘निरीक्षण गर्दा ५ प्रतिशत मात्रै फिनिसिङ भएको छ । यो अझै सकिन्छ जस्तो लाग्दैन । अझ दुई वर्ष लाग्छ जस्तो लागेको छ ।’








