रोमाञ्चक मोडमा पाँचौं टेस्ट : जितबाट ३५ रन टाढा इङ्ल्याण्ड, भारतलाई ४ विकेट आवश्यक

काठमाडौँ । भारत र इङ्ल्याण्डबीचको पाँचौं तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिन वर्षा र खराब प्रकाशले खेल प्रभावित बनेपछि, अब यो निर्णायक टेस्ट पाँचौं दिनमा प्रवेश गरेको छ । जितका लागि इङ्ल्याण्डलाई मात्र ३५ रन आवश्यक छ भने भारतलाई सिरिज बराबरी गर्न ४ विकेट हात पार्नुपर्नेछ ।
ओभलमा ३७४ रनको विशाल लक्ष्य पछ्याएको इङ्ल्याण्डले चौथो दिनको खेल सकिँदा ६ विकेटको क्षतिमा ३३९ रन बनाएको छ । एक समय इङ्ल्याण्ड सहज जिततर्फ अग्रसर देखिएको थियो तर भारतीय बलरले उत्कृष्ट पुनरागमन गर्दै खेललाई सनसनीपूर्ण अवस्थामा ल्याइपुर्याएका छन् ।
इङ्ल्याण्डको जितको आधार ह्यारी ब्रुक र जो रुटले तयार पारेका थिए । दुवैले शानदार शतक प्रहार गर्दै तेस्रो विकेटका लागि १९५ रनको महत्वपूर्ण साझेदारी गरे । आफ्नो ५० औं टेस्ट खेलिरहेका ब्रुकले आक्रामक ब्याटिङ गर्दै मात्र ९८ बलमा १११ रन बनाए । यो उनको टेस्ट करियरको १० औं शतक हो । उनलाई जो रुटले १०५ रन बनाएर उत्कृष्ट साथ दिए, जुन उनको ३९ औं टेस्ट शतक हो । यी दुईको साझेदारीले भारतीय टोलीमाथि चर्को दबाब सिर्जना गरेको थियो ।
एक समय खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको इङ्ल्याण्डलाई रोक्न भारतीय बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । विशेष गरी, प्रसिद्ध कृष्णले खतरनाक देखिएका ब्रुकलाई आउट गरेर भारतलाई खेलमा फर्काएका थिए । त्यसपछि मोहम्मद सिराजले पनि महत्वपूर्ण विकेट लिँदै इङ्ल्याण्डको रन गतिमा अंकुश लगाए । कृष्णले अहिलेसम्म ३ विकेट लिएका छन् भने सिराजले २ र आकाश दीपले १ विकेट लिएका छन् ।
यसअघि, भारतले आफ्नो पहिलो इनिङ्समा २२४ रन बनाएको थियो, जसको जवाफमा इङ्ल्याण्डले २४७ रन बनाउँदै २३ रनको सामान्य अग्रता लिएको थियो । तर, भारतले दोस्रो इनिङ्समा यशस्वी जैसवालको ११८ रन, वासिङ्टन सुन्दर र रवीन्द्र जडेजाको अर्धशतकको मद्दतले ३९६ रनको विशाल स्कोर खडा गर्दै इङ्ल्याण्डलाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो ।
पाँच खेलको यो टेस्ट सिरिजमा इङ्ल्याण्ड हाल २-१ ले अगाडि छ । यदि यो अन्तिम टेस्ट भारतले जितेमा सिरिज २-२ को बराबरीमा सकिनेछ । यदि इङ्ल्याण्डले जित्यो वा खेल बराबरीमा टुङ्गियो भने सिरिज घरेलु टोलीको पक्षमा हुनेछ । अब पाँचौं दिनको खेलले नै यो प्रतिस्पर्धात्मक सिरिजको विजेता टुङ्गो लगाउनेछ ।








