देश किन बनेन ? समीक्षा हुनुपर्छ : राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान र व्यवस्था परिवर्तन गर्दा पनि जनताको अवस्थामा परिवर्तन हुन नसकेकोबारे समीक्षा हुनुपर्ने बताएका छन् ।
आईतवार मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देश विधि, व्यवस्था, शासन र संविधानबाट बन्ने भन्दै नेपालमा विधि, व्यवस्था, शासन र संविधान भएपनि बन्न नसकेको बताए ।
उनले ७० वर्षमा सात वटा संविधान निर्माण भएपनि देश अझै बन्न नसक्नुबारे समीक्षा जरुरी रहेको बताए । नेपाल किन बनेन भनेर देशभर नै छलफल हुनु जरुरी रहेको बताए । ‘विधि र व्यवस्थाबाट देश बन्छ । शासन र संविधानले देश बनाउँछ । तर नेपालमा के विधि, व्यवस्था, शासन र संविधान छैन त ? तर यो हेर्दादेरी नेपालमा संविधान बनाउने कुरामा सातौँ हो । सात वटा संविधान बनाएका हौँ । ७० वर्षमा सात संविधान बनायौँ । व्यवस्था परिवर्तन भएको छ । राणातन्त्रबाट गणतन्त्रमा पुग्यौँ । पटक पटक संविधान र व्यवस्था परिवर्तन भयो । तर नेपाली जनताको अवस्था परिवर्तन भएन । संविधान, व्यवस्था फेरेकै हो । तर अवस्था किन फेरिएन, किन नेपाल बनेन ? यो सवाल महत्वपूर्ण छ । यसमा छलफल गर्नुपर्छ’ उनले भने ।
उनले भने नेपाल बनाउन नसकेको कुरा सबैले गर्ने गरेको तर नेपाल कसरी बनाउने भनेर कसैले भन्न नसकेको बताए ।








