जनआन्दोलनको उपलब्धि माधव नेपालको बिद्रोहले बाँचेको हो : सुदेश पराजुली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का युवा नेता सुदेश पराजुलीले पार्टी अध्यक्ष माधवकुमार नेपालको पक्षमा भावनात्मक र शास्त्रीय सन्दर्भ मिसिएको अभिव्यक्ति सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमार्फत पराजुलीले महाभारतका पात्रहरू मार्फत नेपालको राजनीतिक भूमिका र योगदानलाई अर्थपूर्ण रूपमा प्रस्तुत गरेका छन् ।

श्रीकृष्ण, दक्षप्रजापति र शकुनीलाई जोड्दै उनले भनेका छन्, ‘शकुनीलाई के थाहा थियो भने पाण्डवसँग श्रीकृष्ण छन्, जहाँ श्रीकृष्ण छन्, त्यहाँ धर्म छ, जहाँ धर्म छ, पक्कै उसैको जित हुन्छ ।’

उनले महाभारतको सन्दर्भ दिँदै जनआन्दोलनको उपलब्धि माधव नेपालको बिद्रोहले बाँचेको बताएका छन् । ‘२०६२/०६३ सालको जनआन्दोलनको उपलब्धि कमरेड माधव नेपालको बिद्रोहले बाँचेको हो, केपी ओलीले पटक–पटक विघटन गरेको संसद् र संविधान त्यही बिद्रोहकै उपज हो’ उनले लेखेका छन् ।

पराजुलीले नेपालको राजनीतिक जीवनलाई ‘सत्य र निष्ठाको सतिशाल’ को संज्ञा दिएका छन् । उनका अनुसार नेपालको योगदान कुनै साधारण नेताको रूपमा मात्र नभइ आदर्श र निष्ठाको विम्बका रूपमा लिनुपर्ने हुन्छ ।

उनले भनेका छन्, ‘निष्ठा र आदर्शको राजनीतिका प्रतिमूर्ति नै कमरेड माधव नेपालको बिद्रोह हो । जसमा अनेकौं आदर्शका विम्ब लुकेका छन् । कसैले हल्लाउन नखोजे हुन्छ ।’

महाभारतको अर्को सन्दर्भ कोट गर्दै उनले शकुनीको पासाबाट सिक्नु पर्ने पाठ पनि उल्लेख गरेका छन् । उनका अनुसार, ‘गान्धार राज्यको नलीहाडबाट बनेको पासा जस्तै केही व्यक्ति हाम्रो पार्टीमा असत्यलाई उचाल्दै हिंडेका छन् । तर, सत्यको पक्षमा उभिनुपर्छ भन्ने सन्देश कमरेड नेपालको बिद्रोहले दिएको छ ।’

उनले शकुनीको राज्याभिषेक जस्तो नियति पार्टीमा दोहोरिन दिन नहुने पनि बताएका छन् । उनले माधव नेपालको अगुवाइमा भएको बिद्रोहले सत्यको जित भएको छ भन्ने कुरा सबैले बुझ्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 15 =