साक्षीले विपरित बयान दिएपछि २० हजार रुपैयाँ घुस दिएको आरोपमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस दिएको आरोपमा डम्मर बहादुर बुढाथोकीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
बाँके जिल्लाको कोहलपुर नगरपालिका निवासी बुढाथोकीले सरकारी साक्षीको रूपमा बयान दिने क्रममा अनुसन्धान अधिकृतसमक्ष दिएको बयान विपरित विशेष अदालतमा प्रतिकूल बयान दिएको उजुरी परेपछि थप अनुसन्धान गरिएको थियो ।
अनुसन्धानबाट प्राप्त प्रमाण अनुसार बुढाथोकीले जग्गाको मोठ भिडाउने कार्य सहज बनाउन सहयोगको लागि प्रतिवादी शान्ति पुन (बिचौलिया), खरिदार रतन बहादुर जि.सी., हरिचन्द्र पाण्डे र घनश्याम तिवारीलाई नगद २० हजार रुपैयाँ घुस दिएको पुष्टि भएको आयोगले जनाएको छ ।
अख्तियारका अनुसार डम्मर बहादुर बुढाथोकीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको संशोधित व्यवस्थाअनुसार कैद सजाय, २० हजार रुपैयाँ बिगोअनुसार जरिवाना, र घुस रकम जफत गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
यसअघि विशेष अदालत, काठमाडौंमा दर्ता रहेको मुद्दा नं. ०८१–CR–०१२६ मा खरिदार रतन बहादुर जि.सी.समेतका प्रतिवादीमाथि घुस/रिसवत लिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा डम्मर बहादुर बुढाथोकीलाई सरकारी साक्षीको रूपमा अदालतमा पेश गरिएको थियो ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, उजुरीको गम्भीरताका आधारमा अनुसन्धान गरी पर्याप्त प्रमाण संकलन भएपछि आरोपपत्र दायर गरिएको हो ।








