विपी कोइरालाको बौद्धिकताको प्रभावका कारण गणेशमान सिंह काँग्रेसमा लाग्नुभयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपी कोइरालाको बौद्धिकताको प्रभावका कारण गणेशमान सिंह नेपाली काँग्रेसमा लाग्नुभएको बताएका छन् ।
शनिवार नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले गणेशमान सिंहलाई भेटेर सघन छलफल गर्न सकेको भए कम्युनिष्ट पार्टीमै आउनसक्ने अनुमान लगाए । गणेशमान सिंह शहीद गंगालाल श्रेष्ठका मित्र भएकाले पनि गणेशमानलाई पुष्पलाल श्रेष्ठले सम्मान गर्ने गरेको बताए ।
पुष्पलाल गंगालालबाट प्रभावित भएर राजनीतिमा लागेको बताए ।
प्रधानमन्त्री ओलीले भने ‘गणेशमान पुष्पलालका दाजु शहीद गंगालालका साथी हुन् । एकैदिन प्रजा परिषद्को सदस्यता लिएका हुन् । दाजुको साथी भएको हुनाले पुष्पलालले पनि गणेशमानलाई अत्यन्त सम्मान गर्नुहुन्थ्यो । पुष्पलाल राजनीतिमा लाग्ने उमेर नहुँदै सर्वस्वसहित जन्मकैद पाइसक्नुभएको थियो, गणेशमान सिंहले । पुष्पलाल गंगालालबाट प्रभावित हो । उहाँले १३—१४ वर्षदेखि नै राजनीति थाहा पाउनु भयो । वामपन्थी राजनीति, देशभक्तिपूर्ण राजनीतिको समर्थन गर्नुभयो । दाजुको जब हत्या भयो त्यसपछि उहाँले प्रजा परिषद्बाट छिन्नभिन्न भएपछि नेपाल प्रजातान्त्रिक संघ भनेर गठन गर्नुभयो । पछि नेपाली काँग्रेसको वास्तविकता देखेपछि, बुझेपछि त्यसबाट अलग हुनुभयो । कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । गणेशमानजीसँग अलि सघन कुराकानी भएको भए कम्युनिष्ट पार्टीमै आउनुहुन्थ्यो होला । तर उहाँ विपी कोइरालाको बौद्धिकताको प्रभाव अलि भयो । त्यतै जानुभयो ।’
प्रधानमन्त्री ओलीले अग्रजका पूरा हुन बाँकी सपना पूरा गर्न लाग्नुपर्ने बताए ।








