ओली-प्रचण्डमा स्टालिनको ‘प्रेत’, आलोचकलाई सफाया गर्दैछन् : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका प्रमुख कम्युनिष्ट नेताहरूले रुसी तानाशाह जोसेफ स्टालिनको जस्तै आफ्ना आलोचकहरूलाई राजनीतिक रूपमा सफाया गर्ने बाटो समातेको आरोप लगाएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिरसहित सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

नेपाली कम्युनिष्ट आन्दोलन रुसी कम्युनिष्ट पार्टीकै जस्तो विघटनको दिशामा अग्रसर रहेको समेत दाबी गरेका छन् । ‘इतिहासबाट हामीले सिक्ने भनेको, हामी इतिहासबाट केही पनि सिक्दैनौं’ भन्ने प्रसिद्ध भनाइबाट आफ्नो विश्लेषण सुरु गर्दै डा. भट्टराईले नेपाली कम्युनिष्ट आन्दोलनमा यो भनाइ हुबहु लागू भएको टिप्पणी गरे ।

डा. भट्टराईले पार्टीभित्र देखिएको अन्तरसंघर्ष र विरोधी स्वरहरूलाई दबाउने प्रवृत्तिको तुलना स्टालिनको सन् १९२७-३८ को ‘ग्रेट ट्रायल’ (आतंक) सँग गरेका छन् । उनले लेखेका छन्, ‘अन्तर-पार्टी संघर्षको कुरा गर्दा यहाँ पनि स्टालिनको झल्को दिने गरी मूल नेतृत्वसँग आँखा जुधाउने वा उसको आलोचना गर्ने नेता-कार्यकर्तालाई विभिन्न आरोप लगाएर पार्टी र सत्ताबाट सदाको निम्ति बिदा गर्ने प्रवृत्ति उत्तिकै हावी छ ।’

उनले अगाडि प्रश्न गरेका छन्, ‘स्टालिनकै झल्को आउने गरी अहिले नेपालका ‘कम्युनिष्ट’ मठाधीशहरूले पनि आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समाउनु इतिहासको ठुलो विडम्बना नभए के होला त ?’

डा. भट्टराईले वर्तमान कम्युनिष्ट पार्टीहरूको अवस्थालाई ब्रेझनेभ-कालको ‘गतिहीन काल’सँग तुलना गर्दै पार्टीहरू गुणात्मक रूपान्तरणविना ‘सुन्निएर मोटाएको जस्तो’ मात्र भएको टिप्पणी गरे । उनले झापा आन्दोलन र जनयुद्धको जगमा उठेको नेपाली कम्युनिष्ट आन्दोलन, ७५ वर्ष सत्तामा रहेको रुसी कम्युनिष्ट पार्टी जस्तै, अहिले विघटनको दिशामा गएको बताए । उनले कम्युनिष्ट पार्टीभित्रको वैचारिक स्खलन र बन्ध्याकरणप्रति चिन्ता व्यक्त गर्दै यसले कुनै उल्लेख्य रूपान्तरणकारी उपलब्धि दिन नसकेको बताए ।

पार्टीभित्रको आन्तरिक संघर्षको चरित्रमाथि व्यङ्ग्य गर्दै उनले लेखे, ‘अझै पुरानै एकमनावादी, नोकरशाही केन्द्रीकृतवादी कम्युनिष्ट पार्टीमा भावनात्मक ढंगले टाँसिएर बसिरहेका र पार्टी सुप्रिमोले पहिले एउटा कमरेडलाई ठोक्दा ताली पिट्ने अनि पछि आफ्नै पालो आउँदा एक्लै आँसु झार्नेसाथीहरूले इतिहासबाट पाठ सिकेर समाजवाद निर्माण र मानव जातिको समग्र उन्नयनको नयाँ वैकल्पिक बाटो खोजी र निर्माण गर्ने साहस गर्ने कि ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =