मध्यरातमा साम्बालामा प्रहरीको छापा

के ‘कमब्याक’को तयारीमा थिए चक्रे मिलन ?

काठमाडौं । कुनै समय गुण्डा नाइकेका रूपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले गएराति काठमाडौँको महाराजगन्जस्थित एक होटलबाट पक्राउ गरेको छ । आफ्नो जन्मदिन मनाउन ठूलो समूहसहित साम्बाला होटलमा भेला भएका मिलनसहित ४७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले गएराति करिब १ बजे होटलको आठौँ तलामा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट दुईवटा खुकुरी, एउटा फोल्डिङ रड र पेपर स्प्रे समेत बरामद गरेको छ । पक्राउ परेकामध्येका राहुल खड्काले उक्त हतियार आत्मरक्षाका लागि बोकेको प्रारम्भिक बयान दिएका छन् ।

प्रहरीले केही दिनदेखि नै चक्रे मिलन समूहको गतिविधिमाथि सूक्ष्म निगरानी गरिरहेको थियो । केही दिनअघि भक्तपुरमा तीनवटा गाडीले सडक नै छेकेर लावालस्करसहित हिँडेको भिडियो र तस्बिर प्रहरीमा पुगेको थियो । उक्त गाडी चक्रे समूहको भएको पुष्टि भएपछि उनीहरू पुरानै शैलीमा फर्किएको निष्कर्ष निकाल्दै प्रहरीले निगरानी बढाएको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले भने, ‘सडक आफ्नै जस्तो गरेर छेकेर हिँड्नु गुण्डागर्दी नै हो । उहाँहरू सुध्रिनुभएको छैन भन्ने हाम्रो निष्कर्ष हो ।’

जन्मदिन मनाउने क्रममा बिहीबार दिउँसो मिलन पशुपति क्षेत्रमा देखिएका थिए, जहाँ उनले सहयोग माग्नेहरूलाई पैसा बाँडेका थिए । त्यसपछि ठमेलमा चर्चित र्‍यापरहरूसँगको जमघटमा उनले एकै ठाउँमा २० वटासम्म केक काटेको प्रहरी स्रोतले जनाएको छ । साँझमा गाडीको लावालस्करसहित उनलाई महाराजगन्जसम्म स्कर्टिङ गरिएको थियो, जसले प्रहरीलाई थप सशंकित बनायो । राति अबेरसम्म होटलमा होहल्ला भएपछि प्रहरीले कारबाही अघि बढाएको थियो ।

चक्रेको विगत
२०६२/६३ को जनआन्दोलनपछि काठमाडौँमा महाराजगन्ज क्षेत्रमा चक्रे मिलन, ठमेलमा दीपक मनाङे र चाबहिलमा राजु गोर्खाली गुण्डागर्दीमा सक्रिय थिए । पछि यही समूहमा गणेश लामा र दावा लामा जस्ता व्यक्तिहरू पनि जोडिए ।
समयक्रममा यीमध्ये धेरैजना राजनीतिमा प्रवेश गरेर आफ्नो पृष्ठभूमि बदल्ने प्रयासमा छन् । दीपक मनाङे गण्डकी प्रदेशमा मन्त्री बने भने गणेश लामा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । दावा लामा हाल काभ्रेको भुम्लु गाउँपालिकाका उपाध्यक्ष छन् ।

विगतमा चक्रे मिलन र दीपक मनाङेबीच कट्टर दुश्मनी थियो । ३१ वैशाख २०६१ मा महाराजगन्जको चुफाङ रेस्टुरेन्टमा मनाङेले मिलनमाथि तरबार प्रहार गरेका थिए । सोही ज्यान मार्ने उद्योग मुद्दामा अदालतले दोषी ठहर गरेपछि मनाङे हाल डिल्लीबजार कारागारमा कैद सजाय भोगिरहेका छन् ।

पछिल्ला वर्षहरूमा ठेक्कापट्टामा अनलाइन प्रणाली लागू हुनु र प्रहरीले गुण्डागर्दीविरुद्ध आक्रामक नीति लिनुले उपत्यकामा आपराधिक गतिविधिमा कमी आएको थियो । खासगरी, राजनीतिक संरक्षण प्राप्त भनिएका दिनेश अधिकारी ‘चरी’ र कुमार घैँटे प्रहरीसँगको मुठभेडमा मारिएपछि यस्ता समूह निस्क्रिय बनेका थिए । चक्रे मिलन यसअघि पनि पटक-पटक आपराधिक आरोपमा पक्राउ परे पनि छुट्दै आएका थिए ।

तर, राजधानीमा पछिल्लो समय बढ्दै गएका धम्की, फिरौती र आपराधिक गतिविधिका कारण प्रहरीले विशेष रणनीतिसहित अपरेसन चलाउँदै आएको छ । सोही क्रममा प्रहरीले बुधबार ठमेलबाट सानुभाई भनिने युवराज गुरुङलाई पनि पक्राउ गरेको थियो । सानुभाइ प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । उनलाई जिल्ला अदालतले चार दिनको म्याद थपेर अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिइसकेको छ । चक्रे मिलनसहितको टोलीलाई आज अदालत पेश गरिने पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =