सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका सम्बन्धमा छलफल

काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलसँग भेटगरी सो विभागले ल्याउन लागेको सवारी साधन आयात उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा विस्तृत छलफल गरेको छ ।
हिजो श्रावण १४ गते उक्त छलफल गरिएको हो ।
छलफलमा विशषगरी सवारी आयात, उत्पादन र जडान, नेपालमा यातायात व्यवसायी महासंघको माग सम्बन्धमा विद्युतीय सवारी साधनहरूको वारेन्टी, ग्यारेन्टी, अथराइज्ड सर्भिस सेन्टर, चार्जिङ्ग स्टेसनको व्यवस्था गरेर मात्र आयात गर्न पाउने माग, सवारी साधनमा ईम्बोस्ड नम्बर प्लटे जडानलाई अनिवार्य गर्ने, प्रयोग भएका ब्याट्रीको दीर्घकालीन व्यवस्थापन, डुप्लिकेट सर्टिफिकसेन, डकुमेन्टेसन, छाप र लोगो प्रयोग, मोटर क्षमता र सिट संख्यामा भएको विवाद, भन्सार महसुल निर्धारणको लागि आधारहरूको सिफारिस, ट्याक्सीमा प्रयोग हुने सवारी साधनहरू व्यक्तिगत सवारीभन्दा महँगो भएको ट्याक्सी व्यवसायीको गुनासो र आयात हुने सवारीमा GPS अनिवार्य गर्ने लगायतका विषयहरूमा छलफल गरिएको थियो ।
सो छलफलमा नाडाका अध्यक्ष चौधरीले सो निर्देशिकाको विषयमा बुँदागत छलफल गरिनु पर्ने धारणा राखे । यसै क्रममा चौधरीले सो निर्देशिकाका सम्बन्धमा नाडामा विस्तृत छलफलगरी सुझाव पठाउने बताउँदै विभागले छलफलका लागि नाडालाई बोलाएकोमा आभार प्रकट गरे ।
सो बैठकमा उपस्थित भएका नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सो निर्देशिकामा रहेका केही बुँदाहरू नेपालको सन्दर्भमा व्यावहारिक बनाउनु पर्ने र कतिपय जटिल विषयहरूमा थप छलफलको आवश्यकता रहेको बताए ।
छलफलको अन्त्यमा विभागका महानिर्देशक पोखरले सवारी साधन आयात उत्पादन तथा जडानका सम्बन्धमा नेपालमा कनै स्पष्ट नीति नियम नभएको सन्दर्भमा यो निर्देशिका ल्याउन लागेको बताउँदै यसका लागि विभिन्न चरणमा छलफल गरिने बताए । सोही छलफलको क्रममा उनले सरकारले व्यवसायीहरूका लागि विभिन्न व्यवधानहरू सिर्जना गर्ने गरेको आम बुझाई रहेको भए पनि अव सरकार व्यवसायीहरूको परिपूरकको रूपमा उभिने बताउँदै देशको आर्थिक विकासमा नीजिक्षेत्रको ठुलो भूमिका हुने बताए ।
विभागसगं मिलेर नाडाले सवारी साधनहरूका लागि टेष्टिङ्ग फेसिलिटीको व्यवस्था गर्न सकिने भन्ने नाडाका अध्यक्ष चौधरीको प्रस्तावमा प्रतिक्रिया दिँदै महानिर्देशक पोखरले मुख्यतः ३ वटा विषयमा नाडासगं सहकार्य गरेर अघि बढ्न सकिने बताउँदै सही समयमा सही छलफल भएको धारणा राखे ।
उक्त छलफलमा सो विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले नेपालमा सवारी साधन आयात आयात हुने सम्बन्धी व्यवस्थाहरूका सम्बन्धमा बैठकलाई विस्तृत रूपमा जानकारी गराएका थिए ।
सो छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।








