नेपालले बंगलादेश र नेदरल्यान्ड्ससँग सिरिज खेल्ने चर्चा ‘हल्ला मात्र’ !

काठमाडौं । नेपाल, बंगलादेश र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक क्रिकेट सिरिजबारे सामाजिक सञ्जालमा चौतर्फी चर्चामा छ । तर, नेपाल क्रिकेट संघ (क्यान)ले भने सिरिजबारे औपचारिक रूपमा कुनै तयारी नभएको बताएको छ ।
पछिल्ला दिनमा बंगलादेशी न्युज च्यानलको हवाला दिँदै नेपालले बंगलादेश र नेदरल्यान्ड्ससँग सिरिज खेल्न लागेको भन्दै समाचार सार्वजनिक भएको थियो । यस विषयमा क्यानका प्रवक्ता छुम्बी लामाले ती सबै सूचना ‘हल्ला मात्र’ भएको बताए ।
‘मैले पनि धेरै पोस्टहरू देखिरहेको छु । बंगलादेशको क्रिकेट बोर्डका अध्यक्षले कुनै सन्दर्भमा बोलेको बाइट हालेर समाचार बनाइएको रहेछ । तर, बङ्गलादेशसँग सिरिज खेल्नेबारे कुनै पनि प्रस्तावमा छलफल भएको छैन ’ उनले भने ।
बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लामले नेपाल, नेदरल्यान्ड्स र बंगलादेशबीच त्रिकोणात्मक सिरिज हुनसक्ने सङ्केत दिएको दाबी गरिएको छ । तर, क्यान भने यसबारे अनविज्ञ छ ।








