उपनिर्वाचनका लागि उम्मेदवार छान्न रास्वपाले माग्यो अनलाइन आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया साउन ७ गतेदेखि सुरु गर्ने भएको छ ।
सोमबार पार्टीले एक विज्ञप्ति जारी गर्दै इच्छुक व्यक्तिहरूले पार्टीको न्यूनतम मापदण्ड तथा निर्वाचन आयोग नेपालको कानुनी योग्यता पूरा गरेपछि मात्र उम्मेदवारी दिन सक्ने जनाएको छ ।
आवेदन दिने प्रक्रिया साउन ७ गते बिहान १० बजेदेखि सुरु भई साउन २१ गते साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
रास्वपाले उम्मेदवार छनोटका लागि अनलाइन प्रणालीमार्फत आवेदन माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘श्रावण ७ बिहान १० बजेदेखि श्रावण २१ गते साँझ ५ बजेसम्म पार्टीको आधिकारिक मोबाइल एप डाउनलोड गरी सोही एपमार्फत अनलाइन दरखास्त दिन सकिनेछ ।’
उपनिर्वाचन सम्बन्धी थप जानकारी आवश्यक परेमा पार्टीको केन्द्रीय निर्वाचन आयोग, लुम्बिनी प्रदेश समिति वा रुपन्देही जिल्ला समितिसँग सम्पर्क गर्न रास्वपाले आग्रह गरेको छ ।
यसअघि निर्वाचन आयोगले कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन हुने घोषणा गरिसकेको छ । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य पद रिक्त भएपछि उपनिर्वाचन हुन लागेको हो ।









