ठगी र मनी लाउन्डरिङ्गमा दुरुपयोग हुन्थ्यो टेलिग्राम, नेपालमा बन्द

काठमाडौं । । नेपालमा लोकप्रिय सन्देश आदानप्रदान गर्ने एप ‘टेलिग्राम’ बन्द गरिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राममार्फत अनलाइन ठगीका घटना बढेको जनाउँदै एपको पहुँचमा रोक लगाउन सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो ।
प्राधिकरणले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै टेलिग्राम एपमार्फत मनी लाउन्डरिङ्ग (अवैध रूपमा पैसा ओसारपसार) लगायत गम्भीर प्रकृतिका साइबर अपराध भइरहेकाले नेपालमा टेलिग्रामको प्रयोग तत्कालका लागि बन्द गर्न भनिएको हो ।
प्राधिकरणको सूचनामा भनिएको छः “नेपालमा सञ्चालित टेलिग्राम एपमार्फत अनलाइन ठगीका घटना बढिरहेका छन् । साथै, मनी लाउन्डरिङ्ग लगायतका गतिविधिमा समेत यसको प्रयोग भइरहेको पाइएको छ । त्यसैले सेवा प्रदायकहरूलाई टेलिग्राम एपको इन्टरनेट पहुँचमा रोक लगाउन निर्देशन दिइएको छ ।”
यस निर्णयसँगै नेपालमा इन्टरनेट सेवा उपलब्ध गराइरहेका सबै दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले अब टेलिग्रामको पहुँच बन्द गर्ने प्रक्रिया सुरु गरेका छन् ।
यसअघि पनि विभिन्न सामाजिक सञ्जाल तथा एपहरूलाई गलत प्रयोगका कारण निगरानीमा राख्दै आएको प्राधिकरणले यसपटक पहिलोपटक टेलिग्राम जस्तो विश्वव्यापी एपमाथि पूर्णरूपमा रोक लगाउने निर्णय लिएको हो ।
टेलिग्राम एप शिक्षा, व्यापार, सूचना आदानप्रदानलगायत विविध प्रयोजनमा प्रयोग हुँदै आएको थियो ।
तर पछिल्लो समय विभिन्न अनलाइन ठगी समूहहरूले यसलाई सुरक्षित माध्यमका रूपमा प्रयोग गर्दै आइरहेको भन्दै प्रहरी निकायले समेत चिन्ता व्यक्त गर्दै आएको थियो ।








