भानुभक्तको योगदानको सम्झना

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वर्द्धनमा आदिकवि भानुभक्त आचार्यको महत्त्वपूर्ण योगदान रहेको चर्चा गरिएको छ ।
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती समारोहका अवसरमा महर्षि कलेज गोँगबु, मस्र्याङ्दी वाङ्मय प्रतिष्ठान, तीर्थ स्मृति प्रतिष्ठान, ठाकुर छाँगा स्मृति प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रमका वक्ताले नेपाली भाषालाई जनताको भाषा बनाउँदै साहित्यलाई सबैको पहुँचमा पुर्याउन भानुभक्तको महत्त्वपूर्ण योगदान रहेको बताए ।
भानु प्रतिष्ठानका पूर्व अध्यक्ष प्राडा व्रतराज आचार्यले भानुभक्त आचार्यलाई नेपालमा मात्र नभई नेपाल बाहिर रहेका नेपालीले पनि उत्तिकै आदार र सम्मान गर्ने बताए । भानुभक्त आचार्यको योगदानलाई नेपालमा वि.सं २०१० देखि मात्र नेपाली शिक्षा परिषद्मार्फत कदर गर्न थालिएको उनको भनाइ थियो ।
भानुभक्तका पनातिसमेत रहेका काशीराज आचार्यले भानुभक्तको सम्मानका लागि तनहुँको चुँदीरम्घामा बृहत् भानु पार्क निर्माण गर्न लागिएको जानकारी दिए । रम्घा डाँडोलाई भानु उद्यानका रूपमा विकास गर्न लागिएको उनको भनाइ थियो ।
मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले मस्र्याङ्दी वाङ्मयले स्थापनाकालदेखि नै भानु जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको बताए ।
महर्षि कलेजका क्याम्पस प्रमुख रमेशचन्द्र अधिकारीले पछिल्लो समय नेपाली भाषा, साहित्य र कलाप्रति युवाको मोह घट्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
सुमित्रा न्यौपानेले भानुभक्तका रामायणको श्लोक वाचन गर्नुका साथै भजन समूहबाट रामायणको भजन प्रस्तुत गरिएको थियो ।








