कुलिङ पिरियड छेडखानीका लागि गठित संसदीय छानविन समितिले टुंग्यायो कार्यविधि

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको छ ।
बुधवार सिंहदरबारमा बसेको बैठकले समितिको कार्यविधिलाई अन्तिमरुप दिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका संयोजक जीवन परियारले कार्यविधिका बारेमा मंगलवारबाट काम शुरु गरेको र आजको बैठकले अन्तिमरुप दिएको जानकारी दिए ।
अब पारित गर्न मात्रै बाँकी रहेको उनको भनाइ छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो ।
गडबडीबारे छानबिन गर्न प्रतिनिधि सभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो । समितिको संयोजकमा काँग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार हुन् ।
संसदको नियमावली, २०७५ को नियम १८) बमोजिम गठन गरिएको समितिमा नेपाली काँग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १–१ जना सदस्य छन् ।
नेपाली काँग्रेसबाट संयोजक परियारसहित र सुशीला थिङ तथा नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की छन् । समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको छ । बैठक बिहीवार सवा १२ बजे बस्नेछ ।








