काठमाडौं महानगरका पूर्व हाकिमलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ ।
ठेक्का प्रक्रियामा अनियमितता गरेको अभियोगमा भ्रष्टाचार मुद्दा खेपिरहेका उनलाई विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतले महानगरका कर्मचारीहरू बसन्त आचार्य र नमराज ढकाललाई भने ५०/५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक खरिद नियमावलीविपरीत ठेक्का प्रक्रियामा संलग्न भएको अभियोगमा परियारसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
आयोगका अनुसार कम लागतमा ठेक्का प्रस्ताव गर्ने प्रतिस्पर्धीलाई पाखा लगाएर बढी कबुल गर्ने कम्पनीलाई ठेक्का दिइएको थियो ।
आयोगले ठेक्का प्रक्रियामा पारदर्शिता नदेखिएको र सोही कारण राज्यलाई आर्थिक नोक्सानी भएको भन्दै भ्रष्टाचार निवारण ऐनअन्तर्गत मुद्दा दायर गरेको हो ।
विशेष अदालतमा प्रारम्भिक सुनुवाइपछि तीनै जनालाई फरक–फरक धरौटीमा रिहा गर्ने आदेश दिइएको छ । अब मुद्दाको पूर्ण सुनुवाइपछि दोष सावित भएमा मात्र सजाय तोकिनेछ ।








