संख्याले प्रतिपक्ष, एजेन्डाले हामी नै संस्थापन हौं : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दल संख्यात्मक रूपमा प्रतिपक्षमा रहे पनि वैचारिक र एजेन्डाका हिसाबले नेपाली राजनीतिको ‘संस्थापन पक्ष’ भएको दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्तमान संविधान र गणतन्त्रको मुख्य हिस्सेदार माओवादी नै भएकाले अन्य शक्तिहरू एजेन्डाका आधारमा प्रतिपक्ष रहेको विश्लेषण प्रस्तुत गरेका हुन् ।
संसद् र सरकारमा कमजोर उपस्थिति तथा हालैका निर्वाचनहरूमा अपेक्षित परिणाम ल्याउन नसकिरहेको अवस्थामा अध्यक्ष प्रचण्डको यो भनाइ आएको हो । यसलाई उनले पार्टी पंक्तिमा आत्मविश्वास बढाउने र आफ्नो राजनीतिक एजेन्डाको औचित्य पुनः पुष्टि गर्ने प्रयासका रूपमा अघि सारेका छन् । आफ्नो फेसबुक पोस्टमा उनले लेखेका छन्, ‘जतिसुकै संख्या भए पनि माओवादी संस्थापन हो, अरू शक्ति प्रतिपक्ष हुन् । यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष माओवादी नै हो ।’
आफ्नो दाबीलाई थप प्रस्ट्याउँदै अध्यक्ष प्रचण्डले सदनमा हाल तेस्रो स्थानमा रहेको यथार्थ स्वीकार गरे पनि राजनीतिक परिवर्तनको मुख्य जस माओवादीलाई नै जाने तर्क गरेका छन् । उनी भन्छन्, ‘आजको नेपाली राजनीति, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान; महिला, दलित, आदिवासी, जनजाति, मजदुर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो ।’








