पहिरोले मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रु बिचल्लीमा

काठमाडौं । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोले वितण्डा मच्चाउँदा पूर्वपश्चिम राजमार्ग, बीपी राजमार्ग र रसुवाका मुख्य सडकहरू अवरुद्ध भएका छन् । सडकहरू अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् भने जनजीवन अस्तव्यस्त बनेको छ । रसुवामा बाढी र पहिरोले मानवीय क्षतिसमेत गरेको छ ।
दाउन्ने खण्डमा सडक भासियो
देशको प्रमुख यातायात धमनी मानिने पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को दाउन्नेमा सडक भासिँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीका अनुसार दाउन्नेको खुर्सानी खोला नजिक वर्षाले सडकको ठूलो हिस्सा भासिएको हो ।
सोही ठाउँमा गए राति लु१क ५८२७ नम्बरको ट्रक फसेपछि बर्दघाट-दुम्किबास खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनलाई बर्दघाटको टिसिएन चोकमा र पूर्वबाट पश्चिमतर्फ आउने सवारीलाई दुम्किबासमा रोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिए । ‘सडक खुलाउने प्रयास जारी छ, तर लगातारको वर्षाले काम गर्न कठिनाइ भइरहेको छ,’ डीएसपी पन्तले भने ।
बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो
यसैगरी, अविरल वर्षाका कारण बीपी राजमार्ग पनि अवरुद्ध बनेको छ । काभ्रेको रोशी गाउँपालिका-९ स्थित पिन्थलीबेशी, फेदीखोला र वडा नं. ७ को चारसय बेशीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार फेदीखोलाको लेदो हटाएर एकतर्फी यातायात सुचारु गरिएको छ भने अन्य स्थानमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा भइरहेको छ । सडक विभाग र रोशी गाउँपालिकाको समन्वयमा डोजर प्रयोग गरी बाटो खुलाउने प्रयास भइरहेको र केही समयभित्रै राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि सिन्धुलीबाट काभ्रेतर्फ आउने सवारी साधनलाई सिन्धुलीमै र काभ्रेतर्फबाट जाने सवारीलाई काभ्रेभञ्ज्याङ र भकुण्डेमा होल्डमा राखिएको छ ।
रसुवामा पहिरो र बाढीको वितण्डा
उता, रसुवामा बाढी र पहिरोले सडक सञ्जाल तहसनहस पार्नुका साथै ठूलो मानवीय क्षतिसमेत भएको छ । धुन्चे-स्याफ्रुबेसी सडक खण्डको ठूलो भार्खु भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले पहिरो हटाउन प्रयास गरे पनि चट्टानसहितको पहिरो लगातार झरिरहेकाले समय लाग्ने बताइएको छ ।
यसअघि मंगलबार तिब्बततर्फबाट बग्ने भोटेकोशी नदीमा आएको बाढी र पहिरोले स्याफ्रुबेसी-रसुवागढी सडकखण्ड क्षतविक्षत बनाएको छ । सो बाढीमा परी हालसम्म ९ जनाको शव फेला परेको छ भने १९ जना अझै बेपत्ता छन् । बाढीले रसुवागढी भन्सार कार्यालय, पुल, सडक र पार्किङमा राखिएका मालवाहक तथा साना सवारी साधनसमेत बगाएको छ ।










