सांसद गौतमको अभिव्यक्ति निन्दनीय र भर्त्सनायोग्य : एमाले (भिडिओ)

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले दिएको अभिव्यक्ति निन्दनीय रहेको टिप्पणी गरेका छन् ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे दिएको सांसद गौतमले दिएको अभिव्यक्ति निन्दनीय र भत्र्सनायोग्य रहेको टिप्पणी गरे ।
उनले प्रधानमन्त्रीको भ्रमण दलमा रहेका २८ जना नै स्वदेश फर्किसकेको कार्यालयले नै पुष्टि गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्यालयलाई लाञ्छित गर्नेगरी आएको अभिव्यक्ति निन्दनीय रहेको बताए । ‘प्रधानमन्त्रीको भ्रमण दलमा रहेका सबै २८ जना सदस्य स्वदेश फर्किइसकेको प्रधानमन्त्री कार्यालयले नै पुष्टि गरिसकेको छ। यस्तो अवस्थामा ‘फर्किएनन्’ भन्ने प्रकारको अभिव्यक्ति पूर्ण रूपमा अफवाह फैलाउने र प्रधानमन्त्रीको संस्थागत गरिमालाई लाञ्छित गर्ने खालको हो’ उनले भने ।
भट्टराईले रास्वपा सांसद गौतमसँग ‘नफर्किएका को को हुन् ?’ भनी प्रमाणसहित स्पष्ट पार्न चुनौती पनि दिएका छन् । ‘उहाँहरुले भनेजस्तै नफर्किएका छन् भने नाम दिनुपर्छ, नभए अफवाह मात्र फैलाइरहनु गलत हो,’ उनले भने ।
भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति कटाक्ष गर्दै थपे, ‘आफ्नो आङको भैंसी नदेख्ने, अरुको आङमा जुम्रा खोज्ने प्रवृत्ति देखिन्छ । आफ्नै दलका नेताहरू ठगीकाण्डमा जेलमा छन्, कतिपय मेनपावरमार्फत विदेश पठाउने नाममा दलाली गरिरहेका छन् । ती प्रश्नको जवाफ दिनुपर्ने होइन ?’
भट्टराईका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा गएका सबैको नामावली प्रधानमन्त्री कार्यालयले नै सार्वजनिक गरिसकेको छ । ‘त्यो सूचीमा को नफर्किएको हो भन्ने कुरा उठाउनु अगाडि प्रमाणसहित आउनुपर्छ,’ उनले बताए ।








