‘राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा आउन नपाउने व्यवस्था गरौँ’

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद गंगाकुमारी बेलवासेले राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा आउन नपाउने व्यवस्था गर्न माग गरेकी छन् ।
मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले सम्मानित पदमा अभिभावकीय रूपमा रहीसकेपछि पार्टीमा फर्किएर काम गर्ने कुराले त्यति राम्रो नगर्ने बताइन् । त्यसको लागि ठोस व्यवस्था गरेर सम्मानित पदबाट फेरि राजनीतिमा नफर्किने व्यवस्था गर्न आग्रह गरिन् ।
उनले भनिन् ‘गणतन्त्रको प्रतीकको रूपमा राष्ट्रपति, उपराष्ट्रपतिलाई पायौँ । हामीले मधेसबाट, महिलाबाट, जनजातिबाट राष्ट्रपति र उपराष्ट्रपति पायौँ । जनताका छोराछोरीहरू राष्ट्रपति बन्ने व्यवस्था ल्यायौँ । उहाँहरू अहिले राजनीतिमा जाने विषयले निकै चर्चा पाएको छ । उहाँहरू राजनीतिक पार्टीमा फर्किएर राजनीति गर्ने विषयले समाज तरंगित भएको छ । जनसमुदायहरूले विभिन्न तर्क, वितर्कहरू गरिरहेका छन् । कतिपय समस्याहरू छन् । एउटा सम्मानित पदमा अभिभावकीय रूपमा रहीसकेपछि पार्टीमा फर्किएर काम गर्ने कुराले त्यति राम्रो गरेको छैन । आइन्दा त्यसको लागि ठोस व्यवस्था गरेर त्यो सम्मानित पदबाट फेरि राजनीतिमा नफर्किने व्यवस्था गर्न आग्रह गर्दछु ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेमा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रमा सक्रिय राजनीतिमा फर्किसकेकी छन् ।








