भोटेकोसी बाढी : उद्धार र राहतको पहल गर्न सांसद पन्तको आग्रह

काठमाडौं । राष्ट्रियसभा सदस्य कमलादेवी पन्तले रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण धनजनको क्षति भएको उल्लेख गर्दै उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई तत्काल उद्धार गर्न र राहतको व्यवस्था गर्न सरकारसमक्ष माग गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद पन्तले भनिन्–‘भौगोलिक कारण, जथाभावी रूपमा गरिने विकास निर्माण कार्यहरू र जलवायु परिवर्तनका कारण नेपाल मनसुनजन्य विपद्को उच्च जोखिममा छ । भूकम्पीय जोखिम पनि उत्तिकै छ ।’ प्रत्येक वर्ष सयौँ जनाको ज्यान जानुका साथै आर्थिक क्षति समेत बेहोर्नुपरेकाले यस्ता क्षति न्यूनीकरण गर्न सबैको ध्यान जान आवश्यक भएको उनले उल्लेख गरिन् ।
सांसद पन्तले सन् २०३० सम्म जलवायुजन्य असरका कारण प्राकृतिक विपद्बाट ठूलो क्षति हुने अध्ययनहरूले देखाएको उल्लेख गर्दै पूर्व तयारीमा लगानी बढाउनुपर्नेमा जोड दिइन् । विपद्का कारण गरिबी बढ्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै उनले यस विषयमा गम्भीर छलफल गर्नुपर्ने समय आएको धारणा राखिन् ।
‘विपद् न्यूनीकरणका लागि व्यापक जनचेतना आवश्यक छ । घनिभूत रूपमा छलफल अघि बढाउनुपर्छ,’ सांसद पन्तले भनिन्, ‘विपद्–मैत्री बस्ती र पूर्वाधार निर्माण आजको आवश्यकता हो । विपद् न्यूनीकरण र विपद्–पछिको प्रतिकार्यमा सहकार्य र समन्वय आवश्यक छ । मानवीय कारणले पनि पहिरो जाने गरेको छ तर विपद्–मैत्री संरचना छन् कि छैनन् भन्ने अध्ययन नै हुँदैन ।’
विपद्सँग जुझ्न, प्रकोप पूर्व, प्रकोपपछिको आपतकालीन चरण तथा पुनः स्थापनाका चरणहरूमा सरकारले प्राथमिकताका साथ नीति कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने र स्थानीय तहलाई सबल तथा सक्षम बनाउन जरुरी रहेको सांसद पन्तले बताइन् । विपद्–न्यूनीकरणका लागि सरकारले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने र भूगोलमैत्री वृक्षारोपण गर्नुपर्ने उनले धारणा राखिन् ।
‘नदी, खोल्सा तथा खोलामा अतिक्रमण गरेर बस्ती बसालिएको छ । भिर, पाखा, पखेरा तथा नदी किनारमा निमुखा, गरिब, दलित र विपन्न वर्ग बसोबास गर्छन् । अब सरकारले यस्ता बस्तीहरूको व्यवस्थापन गर्न आवश्यक छ,’ सांसद पन्तले भनिन्, ‘सबै किसिमका प्रकोपबाट जोगिन र जोगाउन एकीकृत बस्तीका लागि राष्ट्रिय बहस आवश्यक छ । दिगो विकासका लक्ष्य पूरा गर्न पनि अपरिहार्य छ ।’








