विपद्को सामना गर्न सरकारले तयारी गरोस् : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्राकृतिक विपद् प्रतिकार्यका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बर्खाको समयमा हुने बाढी–पहिरोजस्ता घटना भइसकेपछि मात्र बैठक बस्ने परिपार्टीको अन्त्य गर्नुपर्ने समेत बताए । उनले विपद्को सामना गर्न सरकारले जोखिमयुक्त ठाउँहरूमा आवश्यक पूर्वतयारीमा लाग्नुपर्ने बताए ।
उनले सोमवार राति चीनतर्फबाट आएको बाढीका कारण प्रभावित भएकाहरूको उद्धार र राहतमा समेत गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराए ।
उनले भने ‘प्राकृतिक विपद् हाम्रो देशले निरन्तर व्यहोर्दै आएकै छ । बर्खाको बेलामा त व्यहोथ्र्यो नै जलवायु परिवर्तनको कारण गत वर्ष हामीले बेमौसममा पनि यस्तो खालको विपत्ति व्यहोर्यौं । घटना हुने र हुँदै छ भनेर पूर्वानुमान भइरहेकै छ । त्यस कारणले घटना भइसकेपछि गम्भीरतापूर्वक बैठक बस्ने होइन । सम्पूर्ण तयारीका साथ सरकारले युद्ध स्तरमै आउँदो विपद्लाई सामना गर्ने तयारी गरोस् । चीनबाट जुन बाढी आएको छ । त्यो जलवायु परिवर्तनकै कारण हो वा अरू केही रु विज्ञहरूबाट विचार आउन बाँकी नै छ । ’
चीनतर्फ ठुलो पानी परेको वा ड्याम फुटेर बाढी आएको हुनसक्ने अनुमान गरिएपनि अझै स्पष्ट भइसकेको छैन ।








