भोटेकोशी बाढी अपडेट : प्रहरीसहित १७ जना बेपत्ता, जलविद्युत आयोजना र ड्राइपोर्टमा ठूलो क्षति

काठमाडौं । तिब्बतबाट उर्लिएर आएको भोटेकोशी नदीको भीषण बाढीले उत्तरी सीमावर्ती जिल्ला रसुवामा ठूलो क्षति पुर्‍याएको छ । सोमबार मध्यरातमा आएको विनाशकारी बाढीले नेपाल र चीन जोड्ने एकमात्र स्थलमार्गको मितेरी पुल बगाउँदा दुई देशबीचको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ ।

बाढीले रसुवागढी नाकास्थित ड्राइपोर्ट (सुक्खा बन्दरगाह) क्षेत्रलाई तहसनहस पारेको छ भने कम्तीमा १७ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीमा परी ९ नेपाली नागरिक (३ जना प्रहरीसहित), ८ चिनियाँ बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ ।

यसैबीच, बाढीका कारण नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सफल उद्धार गरेको छ । बेपत्ता भएका एक प्रहरी जवानले भने नदीको बीचमा सुरक्षित स्थानबाट सम्पर्क गरी आफू सकुशल रहेको जानकारी दिएका छन् छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीले रसुवागढी नाकाको भन्सार तथा ड्राइपोर्ट क्षेत्रमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ ।

भन्सार जाँचपासका लागि लाममा राखिएका कन्टेनर र गाडीहरू बगाएको छ । ‘प्रारम्भिक जानकारीअनुसार ६–७ वटा गाडी बगाएको र त्यसमा चालक तथा सहचालक पनि हुन सक्ने आशङ्का गरिएको छ,’ उनले भने । यद्यपि, मानवीय क्षतिको यकिन विवरण आउन बाँकी छ ।

बाढीले निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनामा समेत गम्भीर क्षति पुर्‍याएको छ । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै काठमाडौंमा रहेका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र जिल्ला प्रहरी प्रमुख डीएसपी हेम शाही घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twelve =