‘मधेसमा पानीको समस्या जटिल बन्दै छ’

काठमाडौं । प्रतिनिधिसभा सदस्य रामकृष्ण यादवले तराई मधेसमा खानेपानी र सिँचाइको समस्या जटिल बन्दै गएकातर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सिँचाइको व्यवस्था नहुँदा आकाशे पानीको भर पर्नुपरेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद यादवले तराई मधेस अन्नको भण्डार भएको उल्लेख गर्दै उनले स्यालो ट्युबेल, पम्पिङ सेट, सिँचाइका मर्मत सम्भार, नदी नाला र बाँध बाध्ने व्यवस्थाका लागि आग्रह गरे ।
सांसद यादवले तराईका कृषियोग्य भूमिमा दिगो र भरपर्दो सिँचाइ सुविधा उपलब्ध नहुँदा कृषि उत्पादकत्व र उत्पादनमा असर गरिरहेको भन्दै ध्यानाकर्षण गराए । ‘असार महिना सकिनलाग्दासमेत तराई मधेसमा २५ प्रतिशत मात्र रोपाइँ भएको छ । सिँचाइमा ध्यान नदिए अन्नको हाहाकार हुनसक्छ’, उनले भने, ‘खानेपानीको पनि धेरै समस्या छ । दुई सय ५० फिटसम्म गहिराइबाट पानी तान्नुपर्ने अवस्था छ । कतिपय ठाउँमा चार सय ५० फिटसम्म खन्दा पनि पानी आउन छाडेको छ ।’
विशेष समयमा जनमत पाटीका सांसद अब्दुल खांनले नेपालगञ्ज जमुनाह नाका, रुपैडिहामा आवातआवतमा सहज बनाउन आग्रह गरे । ‘सिमामा भारतीय शसस्त्र प्रहरी बल (एसएसबी) ले नेपालीलाई घन्टौँसम्म उभ्याउने काम भएको छ । घरेलु प्रयोगका लागि सामान ल्याउँदासमेत नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सामान जफत भइरहेको छ’, सांसद खानले भने ।
सोही क्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले कृषकलाई समयमा सिँचाइ र मल उपलब्ध गराउन सभामुखमार्फत सरकारसँग माग गरे ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चोभार गल्छीलाई मास्न नहुने र साविकबमोजिम नदी चौडा गर्न सुझाव प्रस्तुत गरे ।
उनले चिकित्सकको आन्दोलनबारे ध्यानाकर्षण गराउँदै कृषकलाई मल उपलब्ध गराउनुका साथै डेङ्गी नियन्त्रणका लागि सचेत गराए ।
आम जनता पार्टीका सांसद प्रभु साहले सुरक्षा निकायका सिपाहीलाई घरेलु काममा लगाइएको भन्दै आपत्ति जनाए । उनले यसबारे संसदीय छानबिन गर्नसमेत माग गरे ।
‘सुरक्षा निकायका तल्लो दर्जाका सिपाहीलाई घरेलु कामदारमा लगाइएको छ । देश र जनताको सेवा सुरक्षा गर्छु भनेर सुरक्षा निकायमा प्रवेश गरेकाहरूलाई नेता र उच्च ओहदाका प्रहरीकै घरमा काम गर्न लगाइएको छ’, उनले भने, ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु, तपाईँहरूको कमाण्डमा सुरक्षा निकाय छ कि छैनन् ? कानुनअनुसार सरकार चल्छ भने यो किन भइरहेको छ ?’
विशेष समयमा सांसद योगेन्द्र मण्डलले रासायनिक मलको वितरणबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले वीरगञ्जको भन्सार र तातोपानी भन्सारमा मल खेर गएको भन्दै त्यसबारे छानबिन गर्न माग गरे ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सांसद दामोदर पौडेल वैरागीले प्रदेश र स्थानीय सरकारले फेवाताल क्षेत्राधिकारसम्बन्धी विवादबारे ध्यानाकर्षण गराए ।
उनले पानीको क्षेत्र, हरियाली र सिमसार क्षेत्र कति हो भन्ने यकिन नगरीकन पिल्लर गाड्ने काम गर्न नहुने बताए । सांसद पौडेलले विकास निर्माण आयोजनाका काम समयमा सुरु नहुने र भए पनि तोकिएको समयमा सम्पन्न नहुने भन्दै ध्यानाकर्षण गराए ।








