‘तल्लो तहका प्रहरी कर्मचारीहरूलाई नेताहरूका घरमा घरेलु कामदारका रूपमा प्रयोग गरिनु आपत्तिजनक’

काठमाडौँ । आम जनता पार्टीका सांसद प्रभु साहले सुरक्षा निकायका तल्लो तहका कर्मचारीहरूलाई नेताहरूका घरमा घरेलु कामदारका रूपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद शाहले देश र जनताको सेवा गर्न आएका सिपाहीहरूलाई नेताहरू तथा प्रहरीकै उच्च पदस्थ अधिकारीहरूको घरमा निजी कामदार बनाइएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले तपाईँको कमाण्डमा सुरक्षा निकाय छ कि छैन ? भन्दै गृहमन्त्री लेखकलाई प्रश्न गरे । प्रहरीको डिआइजीभन्दा माथिल्लो दर्जाका अधिकारीको घरमा गाडी चलाउन र घरधन्दा गर्न पनि प्रहरी जवान प्रयोग गरिएको भन्दै छानबिन गर्न माग गरे । उनले सुरक्षा निकायका उच्चपदस्थ व्यक्तिहरूको घरको सिसिटिभी समेत जाँच गर्नुपर्ने बताए ।
उनले भने ‘सुरक्षा निकायका तल्लो तहका कर्मचारीलाई घरेलु कामदारमा लगाइएको छ । बन्दुक बोकेर देश र जनताको सुरक्षा गर्छु, सेवा गर्छु भनेर सुरक्षा निकायमा जागिर गर्न आएका ती सिपाहीहरूलाई नेताहरूको घरमा चाकडी गर्न लगाउँदा, सिपाहीहरूलाई प्रहरी निकायकै उच्च ओहोदाका कर्मचारीको घरमा निजी कामदार बनाउँदा कत्तिको उचित छ ? म गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु, तपाईँको कमाण्डमा सुरक्षा निकाय छ कि छैन ? तपाईँहरूको सरकार कानूनअनुसार चल्छ कि चल्दैन ? यदि कानूनअनुसार चल्छ भने यस्तो किन भइरहेको छ ? डिआइजीभन्दा माथिको घरमा सवारी चालक पनि प्रहरी जवान हुने र घरेलु कामदार पनि प्रहरी जवान हुने ? यहाँ कतिपय सांसदहरूका गाडी पनि प्रहरीले चलाइरहेका छन् । यो कानुनसम्मत हो कि होइन ? अहिले मौजुदा कानुन मिल्छ ?’
उनले प्रहरी कर्मचारीहरूको दुरुपयोगको सम्बन्धमा छानबिन गर्न समिति गठनको समेत माग गरे ।








