कल्भर्ट निर्माणको क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर । महोत्तरीको औरही नगरपालिका–७ मा कल्भर्ट निर्माणको क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका–५ का ३२ वर्षीय छटु मुखिया रहेका छन् । उनी आज साँझ कृषि सडकमा निर्माण कार्य गर्दै गर्दा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्रकुमार भट्टका अनुसार, काम भइरहेको ठाउँमाथिबाट विद्युत्को तार चुँडिएर खसेपछि मुखियालाई करेन्ट लागेको हो ।
स्थानीय प्रत्यक्षदर्शी रोशनकुमार यादवका अनुसार, निर्माणस्थलमाथिबाट चुँडिएको तार अचानक मजदुरको शरीरमा खसेको थियो । तत्कालै करेन्ट लागेको र उनको घटनास्थलमै मृत्यु भएको जानकारी उनले दिएका छन् ।
घटनापछि स्थानीय बासिन्दा तथा पीडित परिवारले नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण यो दुर्घटना भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
प्रहरीले घटनास्थलमा पुगेर सर्जमिन मुचुल्का तयार गरेको छ भने शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको डीएसपी भट्टले जानकारी दिएका छन् ।








