मैले ६१ लाख पारिश्रमिक लिएको होइन : केदार घिमिरे

काठमाडौं । अभिनेता केदार घिमिरेले आफूले फिल्मबाट ६१ लाख रुपैयाँ पारिश्रमिक नलिएको बताएका छन् ।
आइतबार राजधानीमा आयोजित मिसेस नेपाल वल्र्ड २०२५ को पत्रकार सम्मेलनमा उनले उक्त रकम आफूले नलिएको स्पष्ट पार्दै, फिल्मको प्रचारका लागि निर्माता मुनाल घिमिरेको आग्रहमा मात्रै यस्तो बोलेको बताएका हुन् ।
‘मैले त्यो रकम लिएको होइन,’ घिमिरेले भने, ‘कति लिएको भन्ने म भन्न चाहन्न तर ६१ लाख होइन । निर्माता मुनाल घिमिरेले प्रचारका लागि त्यस्तो भन्नू भनेपछि मैले भनेको हुँ ।’
उनले थपे, ‘दाइ किन यत्रो बढाउने भनेर सोध्दा, उनले हाइप बनाउनुपर्छ, हल्ला गर्नुपर्छ भनेका थिए । म पनि प्रचारको चक्करमै लागेको हुँ ।’
असार पहिलो साता आयोजित माग्ने राजा फिल्मको पत्रकार सम्मेलनमा निर्माता मुनाल घिमिरेले केदारलाई ६१ लाख रुपैयाँ दिएको दाबी गरेका थिए । सोही आधारमा केही मिडियाले केदारलाई महंगा कलाकारको रूपमा प्रस्तुत गरेका थिए ।
तर, त्यही निर्माता घिमिरेले हालै ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को छायांकनका क्रममा उक्त दाबी असत्य भएको स्वीकार गरिसकेका छन् ।








