ज्ञानेश्वरबाट कोकिनसहित ५ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरस्थित एक होटलबाट कोकिनसहित ५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार भगवती इन होटलको तेस्रो तलाबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बुढानिलकण्ठका २९ वर्षीय दिनेश चालिसे, नवलपरासीका ३७ वर्षीय सतेन्द्र बहादुर भट्ट, सिन्धुपाल्चोककी २४ वर्षीया आयुषा श्रेष्ठ, सप्तरीका ३२ वर्षीय प्रकाश यादव र ललितपुरका ३३ वर्षीय सुब्रत अधिकारी छन् ।
प्रहरीले उनीहरूको साथबाट ६५.९३ ग्राम कोकिन जस्तो देखिने लागुऔषध बरामद गरेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार पक्राउ परेकाहरूको साथबाट बरामद गरिएको पदार्थ परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।
‘हाल उनीहरूविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ,’ एसपी बोहराले भने, ‘१० दिनको म्याद लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई काठमाडौंको मालिगाउँस्थित प्रहरी वृत्तमा राखिएको छ ।








