पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

मेयर शाह पूर्वराष्ट्रपति भण्डारीलाई भेट्नका लागि भंगालस्थित निवास पुगेका थिए । बिहीबार साँझ भएको भेटमा नेकपा (एमाले) नेता शेरधन राई र काठमाडौं–९ बाट प्रतिनिधिसभा सांसद कृष्णगोपाल श्रेष्ठ पनि सहभागी थिए ।

मेयर शाहको सचिवालयका अनुसार भेट पुरानै चिनजानकै निरन्तरताको रूपमा भएको हो । ‘राष्ट्रपति चुरे–तराई संरक्षण कार्यक्रम’ अन्तर्गत भण्डारीको कार्यकालमा चुरे क्षेत्रमा वन्यजन्तु अन्डरपास योजना अघि बढाउँदा बालेन शाह त्यसमा प्राविधिक रूपमा संलग्न थिए । त्यसै सहकार्यका आधारमा दुईबीच भेटवार्ता भएको स्रोतले जानकारी दियो ।

‘असार १९ गते साँझ पूर्वराष्ट्रपतिज्यूको निवासमा उहाँहरूमध्ये भेटवार्ता भएको हो,’ मेयरको सचिवालय स्रोतले भन्यो, ‘भेट पुरानो सहकार्य र आपसी सम्मानकै निरन्तरता हो ।’

पूर्वराष्ट्रपति भण्डारीले केही समयअघि नेकपा (एमाले) को साधारण सदस्यता नवीकरण गरेकी छन् । उनले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सेवा–सुविधा पनि राजीनामा दिँदै फिर्ता गरेकी छन् ।

भेटमा पछिल्लो राजनीतिक अवस्था, काठमाडौंको विकास र चुरे संरक्षण लगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =