नाउपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन, सभामुखलाई जानकारी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टी अध्यक्ष तथा प्रतिनिधि सभा सांसद रञ्जिता श्रेष्ठले आइतबार सभामुख देवराज घिमिरेलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।

श्रेष्ठले भनिन्, ‘हामीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसक्यौं । त्यसको जानकारी सभामुखज्यूलाई पनि दिइसकेका छौं। अब प्रतिपक्षी बेञ्चमा बस्छौं ।’

उनका अनुसार प्रधानमन्त्री ओलीसँग पनि आजै अपराह्न ४ बजे भेटवार्ता तय भएको छ । ओली हाल हुम्ला भ्रमणमा रहेकाले काठमाडौं फर्किएपछि छलफल हुने बताइएको छ ।

यसअघि नाउपाले संसदीय दलको बैठक बसेर सर्वसम्मत रुपमा समर्थन फिर्ता लिने निर्णय गरेको थियो । संसदीय दलका नेता गंगाराम चौधरीले भने– ‘सरकारले चित्तबुझ्दो काम गर्न सकेन । त्यसैले समर्थन फिर्ता लिने निर्णय गरेका हौं । साथै, राज्यमन्त्री अरुणकुमार चौधरीलाई पनि फिर्ता गर्ने निर्णय भएको छ ।

चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीका रूपमा ओली नेतृत्वको सरकारमा सहभागी छन् ।

नाउपाले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री ओली अब संविधानबमोजिम ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्नेछ ।

संविधानको धारा १००(२) अनुसार, सरकारमा सहभागी दलले समर्थन फिर्ता गरेपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनैपर्ने व्यवस्था छ ।

प्रतिनिधि सभामा नाउपाका ४ सांसद छन् । यद्यपि कांग्रेस र एमालेको मात्रै पनि बहुमत पुग्ने भएकाले सरकार तत्काल संकटमा पर्ने सम्भावना देखिदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =