बैंकबाट ऋण लिन वातावरण बनाउनुपर्छ : सभापति चालिसे

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिका सभापति सन्तोष चालिसेले नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई ऋण लिन जाने वातावरण बनाउनु पर्ने बताएका छन् ।
आईतबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै सभापति चालिसेले बजार सुस्त हुनु अर्थतन्त्रका लागि खतरनाक संकेत भएको भन्दै आगामी मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्ने धारणा राखे ।
उनले अर्थतन्त्रलाई गतिशील बनाउन घरेलु उद्योगहरूलाई २० देखि २५ लाख रुपैयाँसम्म ऋण प्रवाह गर्नुपर्नेमा जोड दिए । ‘बजारमा पैसा लैजान राष्ट्र बैंकले प्रभावकारी नीति ल्याओस्,’ उनले भने, ‘हिजो ऋण लिएका मानिसहरू अहिले किन बैंक जान डराइरहेका छन् भन्नेबारे अध्ययन हुनुपर्छ । मौद्रिक नीतिले पनि यसको उत्तर दिनुपर्छ ।’
सभापति चालिसेले २०७२ सालको भूकम्पपछि बैंकहरूले पीडितलाई सहुलियत नदिएको विषयमा पनि चिन्ता व्यक्त गरे । उनले धेरै मानिसको घरजग्गा बैंकमा अड्किएको उल्लेख गर्दै त्यसकै कारण धेरैले ऋण लिन हिम्मत गर्न नसकेको बताए ।
‘बैंकमा ऋण लिन सक्ने अवस्था बनाउनुपर्ने हो,’ चालिसेले भने, ‘तर अहिले त मान्छेहरू बैंक जान नै डराउन थालेका छन्, यसको समाधान खोज्नुपर्छ ।’








