वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व प्रचण्डले गरिरहेका छन् : रघुवीर महासेठ

काठमाडौं । नेकपा (एमाले) का सचिव रघुवीर महासेठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई वर्तमान सत्ता गठबन्धन भत्काउने अभियानमा लागेको आरोप लगाएका छन् ।
आईतबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै महासेठले अध्यक्ष दाहालको नेतृत्वमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सत्ता गठबन्धन तोड्ने प्रयास भइरहेको दाबी गरे ।अध्यक्ष दाहाललाई स्वतन्त्र सांसद, राष्ट्रिय स्वतन्त्र पार्टीहरुले सहयोग गरिरहेको पनि बताए ।
‘राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा यो गठबन्धन तोड्न प्रयास भइरहेको छ,’ महासेठले भने, ‘जसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरिरहनुभएको छ । उहाँलाई स्वतन्त्र सांसदहरू, स्वतन्त्र पार्टीहरू र गठबन्धनभित्रै रहेका केही असन्तुष्ट सांसदहरूको समेत साथ छ ।’
उनले गठबन्धन बनेको पहिलो दिनदेखि नै मधेस प्रदेशका केही समानुपातिक सांसदहरू विदेशी शक्तिको आडमा सक्रिय भएको पनि दाबी गरे ।
तर यति धेरै दबाब र असन्तुष्ट प्रयासहरूका बाबजुद गठबन्धन भने अहिले पनि प्रतिकूल अवस्थामा नरहेको महासेठको भनाइ छ ।
‘अहिलेसम्म सरकार प्रतिकूल अवस्थामा पुगेको छैन,’ उनले भने, ‘यो सम्भव भएको हो, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको सोच र तालमेलका कारण ।’
महासेठले वर्तमान सत्ता गठबन्धनको विकल्प नरहेको भन्दै यो सरकार अघि बढ्नुपर्नेमा जोड दिए ।








