मध्यरातमा प्रहरीलाई फोन– ‘मैले चार जनाको हत्या गरेँ, पक्राउ गर्न आउनुस्’

काठमाडौँ । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ स्थित धोदलेखानीमा ससुराली गएका एक युवकले एकै परिवारका चारजनाको हत्या गरेका छन् ।

भोजपुर नगरपालिका–२, हेलौंछा घर भएका ३० वर्षीय राजेन्द्र राईले सासू, ससुरा, पत्नी र सालोलाई छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीका अनुसार हत्या हुनेमा ६८ वर्षीय बेलबहादुर गिरी, ४५ वर्षीया मञ्जु गिरी, मनिषा गिरी (राजेन्द्रकी पत्नी) र सपन गिरी रहेका छन् ।

प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार शनिबार राति करीब ११ बजेतिर हत्यापछि राजेन्द्रले आफैँ प्रहरी कन्ट्रोलमा फोन गरी ‘मैले चार जनाको हत्या गरेँ, मलाई पक्राउ गर्न आउनुहोस’ भनेका थिए ।

सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । श्रेष्ठले भने, ‘उनले फोनमा भनेकै ठाउँमा हामी पुग्दा चारै जना मृत अवस्थामा फेला पर्यौं ।’

हत्या आरोपित राजेन्द्रलाई प्रहरी टोलीले घटनास्थलबाट करिब पाँच किलोमिटर टाढा हर्बु भञ्ज्याङ भन्ने स्थानबाट घाइते अवस्थामा नियन्त्रणमा लिएको छ । उनको पेटमा चोट लागेको छ र थप उपचारका लागि धरान रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, खाना खाएर सुतेको बेलामा राति अचानक आवाज आएपछि राजेन्द्र ब्युँझिए र सासूले आफूलाई छुरा प्रहार गरेको दाबी गरेका छन् । उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘सासूले छुरा हानेपछि मैले छुरा खोसेर प्रहार गरेँ ।’

राजेन्द्र ६ दिनअघि मात्रै ससुराली गएका थिए । उनकी पत्नी मनिषालाई झण्डै डेढ महिनाअघि आमा मञ्जुले माइती ल्याएकी थिइन् । पारिवारिक मनमुटावकै कारण घटनाले हिंसात्मक रूप लिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =