ऋण लिएर भ्रष्टाचार गर्ने परिपाटी अन्त्य होस् : अमरेशकुमार सिंह

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले अर्बौंको वैदेशिक ऋण लगानीमा निर्माण भएका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक अनियमितता भएको दाबी गर्दै त्यसमाथि तत्काल छानबिन गर्न माग गरेका छन् । उनले आम्दानी नहुने र प्रतिफल नदिने पूर्वाधारमा वैदेशिक ऋण खन्याएर भ्रष्टाचार गर्ने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिए ।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आफ्नो धारणा राख्दै सांसद सिंहले राष्ट्रिय स्रोतको सही उपयोग र लगानीको प्रतिफल सुनिश्चित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले भने, ‘विदेशीको ऋण लिएपछि त्यसबाट आम्दानी हुनुपर्यो । तर यहाँ ऋण भ्रष्टाचार गर्नका लागि मात्रै लिने परिपाटी बस्यो, यो खेदजनक छ ।’
सांसद सिंहले पूर्वाधार निर्माण गर्दा जनसंख्याको घनत्व र आवश्यकतालाई मुख्य आधार बनाउनुपर्ने तर्क प्रस्तुत गरे । मधेश प्रदेशजस्तो विशाल जनसंख्या भएको क्षेत्रमा विमानस्थलको अभाव रहेको तर कम प्रतिफल आउने स्थानमा विमानस्थल बनाएर राज्यको स्रोत दुरुपयोग गरिएको उनको आरोप थियो । ‘भैरहवा र पोखरामा अर्बौं खर्चेर बनाइएका विमानस्थलहरू आज प्रयोगविहीन अवस्थामा छन्,’ समितिको बैठकमा उनले भने, ‘एउटै प्रदेशमा दुई-दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल छन् तर ती सञ्चालन हुन सकेका छैनन् । यसले ऋणको भारी मात्र बोकाएको छ, प्रतिफल शून्य छ ।’
उनले यी दुई विमानस्थल निर्माणमा भएको अनियमितताको गहिरो अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन समितिमार्फत सरकारसँग माग गरे । ‘जहाँ धेरै जनता छन्, त्यहीँ संरचना बनाउँदा त्यसको सही सदुपयोग हुन्छ । आम्दानी नहुने ठाउँमा ऋण लिएर लगानी गर्ने काम तत्काल बन्द गरियोस्,’ उनले थपे ।








