सकारात्मक सोचका साथ अघि बढौँ, सबै सम्भव छ : खेलकुदमन्त्री

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका छन् ।
शनिवार काठमाडौंमा स्व। गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पञ्चायती र राणा शासन भन्दा अहिले धेरै कुरामा परिवर्तन आएको दाबी गरे । शिक्षा, स्वास्थ्य, बैंकिङ क्षेत्र, दूरसञ्चार हरेक क्षेत्रमा नेपाल अघि बढेको बताए । सकारात्मक सोच राख्दा हरेक क्षेत्रमा परिवर्तन गर्न सकिने बताए । सकारात्मक सोचले सामाजिक, राजनीतिक, आर्थिक परिवर्तन हुने बताए ।
मन्त्री चौधरीले भने ‘पञ्चायती र राणा शासन भन्दा धेरै कुरामा परिवर्तन भएको छ । शिक्षा, स्वास्थ्य, बैंकिङ क्षेत्र, दूरसञ्चार हरेक क्षेत्रमा नेपाल अघि बढेको छ । तर एउटै कुरा बाटोघाटो हुँदा, चिया पिउँदा पोजेटिभ सोच राखिदिनुस् । केही पनि भएन, यो पनि भएको छैन, यस्तो पनि भएको छैन, त्यस्तो पनि भएको छैन भन्ने छ । पोजेटिभ सोच भए हरेक चिजमा परिवर्तन हुनसक्छ । सामाजिक, राजनीतिक, आर्थिक परिवर्तन हुन्छ । यही देशमा केही गर्नुपर्छ, यही देशमा गरेर खान सकिन्छ भन्ने सोच राख्नुपर्छ । खेलाडीहरूलाई यो सरकार आइसकेपछि यति पुरस्कार बाँडेका छौँ ।’
मन्त्री चौधरीले नेपालमा क्रान्ति र शान्ति ल्याउन गिरिजाप्रसाद कोइरालाको भुमिका महत्वपूर्ण रहेको बताए ।








