पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार हो : अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताएका छन् ।

शनिवार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धिबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले समृद्धिका निम्ति धेरै कुराहरू रहेको र पर्यटन क्षेत्र त्यसमध्येको एउटा महत्वपूर्ण क्षेत्र भएको उल्लेख गरे । उनले नेपालमा पर्यटनको अनगिन्ती सम्भावना रहेको बताए । पर्यटन क्षेत्रमा लगानी प्रवर्द्धन गर्न जरुरी रहेको बताउँदै देशभित्रको लगानी र बाहिरको लगानी आकर्षित गर्न सरकारले काम गरिरहेको बताए । पर्यटन पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताए ।

उपप्रधानमन्त्री पौडेलले भने ‘समृद्धिका निम्ति हामीसँग अरु विभिन्न कुराहरू छन् । त्यसमध्येको एउटा शक्तिशाली विकल्प पर्यटन हो । यसको अनगिन्ती सम्भावना छ । हामीले क्रमशः यो क्षेत्रमा लगानी प्रवर्द्धन गर्नुपर्छ । हाम्रो देशभित्रको लगानी, विदेशको लगानी, राज्यको लगानी मात्रैले पुग्दैन । राज्यको लगानी यो पर्यटकीय दृष्टिकोणले आकर्षक गन्तव्य हो भनेर सन्देश दिने,स्वदेश र विदेशका निजी क्षेत्रलाई जाऊँ लगानी गर्न नेपालमा भनेर आकर्षित गर्ने कामका लागि राज्यले काम गर्छ । पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी आवश्यक पर्दछ । त्यही हिसाबले बजेट निर्माण गर्दा पनि त्यसलाई हेक्का राखेका छौँ ।’

उपप्रधानमन्त्री पौडेलले मुलुकलाई राजनीतिक स्थायित्व दिँदै विकास र समृद्धितर्फ अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 3 =