रविको पक्षमा बालबालिका प्रयोग भएकोप्रति महेश बस्नेतको आपत्ति

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर अभियानप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत बालबालिकाको दुरुपयोग गरी सहकारी ठगी प्रकरणको आरोपबाट उम्किने प्रयास भइरहेको भन्दै त्यसको निन्दा गरेका हुन् ।
नेता बस्नेतले बालबालिकालाई बिस्कुट र कुरकुरे जस्ता खानेकुराको प्रलोभन देखाई हस्ताक्षर गराउने र युट्युबरमार्फत प्रचार गराउने कार्यलाई ‘आपत्तिजनक हर्कत’ को संज्ञा दिएका छन् । ‘बिस्कुट र कुरकुरे दिएर बालबालिकाबाट रवि लामिछानेको पक्षमा हस्ताक्षर गराउने र युट्युबर बोलाएर उनको पक्षमा बोल्न लगाउने काम अत्यन्तै आपत्तिजनक छ,’ बस्नेतले लेखेका छन्, ‘यस्तो हर्कतले केवल बाल अधिकारको उल्लङ्घन मात्र गर्दैन, समाजमा गलत सन्देशसमेत दिन्छ ।’
बस्नेतले सहकारी ठगीजस्तो गम्भीर आरोपमा मुछिएका व्यक्तिले आफूलाई ‘सुधारक’ भन्दै बालबालिकाको आडमा अपराध ढाकछोप गर्न खोज्नु खेदजनक भएको टिप्पणी गरेका छन् । ‘अझ खेदजनक त के छ भने, बालबालिकाको अधिकार हनन गर्ने यिनै व्यक्ति आफैलाई ‘सुधारक’ भन्न लाज मान्दैनन्,’ उनले थपे, ‘कानुन हातमा लिएर बालबालिकाको आडमा आफ्ना अपराध छोप्ने प्रयास गर्नु गम्भीर अपराध हो ।’








