उपाधि नजिक नेपाल : घातक बलिङमा सिंगापुर ११३ रनमा समेटियो

काठमाडौं ।  एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधि रक्षा गर्ने अभियानमा रहेको नेपाल फाइनलमा शानदार प्रदर्शन गर्दै उपाधिको नजिक पुगेको छ । नेपाली युवा बलरहरूको घातक बलिङसामु सिंगापुर निरीह बन्दै मात्र ११३ रनमा समेटिएपछि नेपालले उपाधि जित्न ११४ रनको सामान्य लक्ष्य पाएको छ ।

मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपाली बलरहरूले खेलको सुरुवातदेखि नै कसिलो बलिङ गर्दै सिंगापुरका ब्याटरहरूलाई दबाबमा राखे । नेपालको अनुशासित बलिङ आक्रमणसामु सिंगापुरको ब्याटिङ लाइनअप ४०.५ ओभरमा नै धराशायी भयो ।

सिंगापुरका लागि रोहन अस्टिनले ८४ बलको सामना गर्दै संघर्षपूर्ण २३ रन जोडे, जुन टोलीका लागि सर्वाधिक रह्यो । कप्तान रियान नायकले आक्रामक रूपमा १५ रन बनाए पनि लामो समय टिक्न सकेनन् । यसबाहेक, वेदान्स गुप्ता अविजित १२ तथा आकाश तेजा १० रनमा आउट भए । यी चार ब्याटरबाहेक अन्य कसैले पनि दोहोरो अंकमा रन जोड्न नसक्दा सिंगापुर सस्तैमा समेटिन पुग्यो ।

नेपालको जितको आधार तयार पार्ने क्रममा शुशिल बहादुर रावल र अभय यादवले उत्कृष्ट बलिङ गरे । दुवैले समान ३-३ विकेट लिँदै सिंगापुरको मध्यक्रम ध्वस्त पारे । शुभम खनालले २ विकेट लिएर उनीहरूलाई बलियो साथ दिए भने कप्तान विपिन प्रसाद शर्माले पनि १ विकेट आफ्नो नाममा लेखाए ।

नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो र यस पटक पनि अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको छ । सेमिफाइनलमा घरेलु टोली मलेसियालाई हराएको नेपालले समूह चरणमा पनि सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । गत संस्करणको फाइनलमा मलेसियालाई २२१ रनको विशाल अन्तरले हराउँदै च्याम्पियन बनेको नेपाली युवा टोलीले आजको प्रदर्शनसँगै उपाधि रक्षा गर्ने बलियो सम्भावना देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =