क्यान्सरबाट पीडित कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं । कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ । लोकप्रिय हास्य सिरियल ‘मेरी बास्सै’ मा ‘खड्काजी’की श्रीमती अर्थात् ‘अप्सरा आमा’को अभिनयबाट गरेकी श्रेष्ठको निधन भएको हो ।
लामो समयदेखि स्तन क्यान्सर लगायतका स्वास्थ्य समस्यासँग जुधिरहेकी उनको शुक्रबार राति काठमाडौंको कपन, बालुवाखानीस्थित आफ्नै निवासमा निधन भएको कलाकार सुशीला निरौला (विमली)ले जानकारी दिइन् । श्रेष्ठ केही महिनादेखि थलिएकी थिइन् ।
स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा सुधार आउन नसकेपछि करिब एक महिनाअघि चिकित्सकले उपचार सम्भव नभएको भन्दै घरमै आराम गर्न सुझाएका थिए । त्यसयता उनी ओछ्यानमै थिइन् ।
उनको छुच्चो तर मायालु स्वभाव, खरो संवाद शैली र खड्काजीसँगको नोकझोकले सिरियलमा बेग्लै रौनकता थपेको थियो । ‘खड्काजी र अप्सरा’को जोडीलाई दर्शकले अत्याधिक रुचाएका थिए र यही ‘अप्सरा आमा’को भूमिकाले उनलाई घरघरमा चिनाएको थियो ।
लामो समयदेखि कलाकारितामा सक्रिय श्रेष्ठले ‘मेरी बास्सै’ बाहेक ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता दर्जनौं सिरियलमा अभिनय गरेकी छन् । पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीरलाई शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।








