एसिसी यु-१६ कप

फाइनलमा आज सिंगापुरको सामना गर्दै नेपाल

काठमाडौं । साविक विजेता नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कप क्रिकेटको उपाधि रक्षाका लागि आज (शनिबार) सिंगापुरको सामना गर्दैछ । प्रतियोगितामा अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको नेपाली युवा टोली उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ ।

फाइनल भिडन्त मलेसियाको बांगीस्थित क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ७:४५ बजे सुरु हुनेछ । प्रतियोगितामा अपराजित रहँदै फाइनल यात्रा तय गरेको नेपाल उपाधि रक्षा गर्दै आफ्नो दबदबा कायम राख्ने लक्ष्यमा छ । अर्कोतर्फ, समूह चरणमा नेपालसँग व्यहोरेको हारको बदला लिँदै उपाधि जित्ने दाउमा सिंगापुर हुनेछ ।

फाइनलसम्मको यात्रा
नेपालले सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले स्तब्ध बनाउँदै फाइनलमा स्थान पक्का गरेको हो । टस जितेर फिल्डिङ रोजेको नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै मलेसियालाई ९० रनमा समेटेको थियो । जवाफमा नेपालले १४ ओभरमै मात्र एक विकेट गुमाएर लक्ष्य पूरा गर्दै आफ्नो सानदार लय प्रस्तुत गरेको थियो । उता, सिंगापुरले भने अर्को सेमिफाइनलमा हङकङलाई चार विकेटले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

नेपाली टोलीको प्रदर्शन प्रतियोगिताभरि नै सानदार रहेको छ । समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेट र जापानलाई ९ विकेटले सहजै पराजित गरेको थियो । त्यसपछिका खेलहरूमा झनै आक्रामक देखिएको नेपालले इन्डोनेसियामाथि ३७० रन र भुटानविरुद्ध २९८ रनको विशाल जित निकाल्दै आफ्नो सान र क्षमता प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =