भेरी किनारमा भेटिएको शव मन्त्रालयका सवारी चालकको भएको पुष्टि

काठमाडौं । भेरी नदीको किनारामा फेला परेको शव भौतिक पूर्वाधार विकास मन्त्रालय, सुर्खेतका सवारी चालक हिम बहादुर विष्टको भएको पुष्टि भएको छ ।

शुक्रवार साँझ पौने ४ बजे बराहताल गाउँपालिका–४, साजघाट रिङाउस्थित भेरी किनारमा गस्तीमा खटिएको अस्थायी प्रहरी पोष्ट तरङ्गाको टोलीले अन्दाजी ४० वर्षको पुरूषको शव फेला पारेको थियो । शवको पहिचान विष्टका परिवारले गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाका अनुसार विष्ट असार ५ गतेदेखि बेपत्ता भएका थिए ।

विष्ट दैलेख चामुण्डा बिनदासैनी नगरपालिका–२ स्थायी घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३, तातापानीमा बसोबास गर्दै आएका थिए ।

डिएसपी बुढथापाका अनुसार विष्टले असार ५ गते मन्त्रालयको क.प्र. ०२–००१ ब. ००७२ नम्बरको मोटरसाइकल लिएर हिँडेका थिए ।

“६ गते बिहान कार्यालयमा ‘बिरामी छु’ भनेर जानकारी दिएपछि उनी सम्पर्कविहीन भएका थिए,” डिएसपी बुढथापाले भने ।

परिवारले दिएको निवेदनका आधारमा खोजी सुरु गरिएको र असार ९ गते बिहान भेरीगंगा नगरपालिका–२ स्थित भेरीपुलबाट ५० मिटर पूर्वतर्फ मोटरसाइकल फेला परेको थियो । तर, उनीसँगको सम्पर्क त्यसयता नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 7 =