बाजा केवल लय होइन, जनताको आवाज हो : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बाजा नेपालका सांगीतिक र सांस्कृतिक पहिचान मात्र नभई जनताको आवाजसमेत भएको बताएकी छन् ।

शुक्रबार काठमाडौं महानगरपालिकाले परम्परागत टोल, गुथी र खलःहरूलाई अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि अनुदान सहयोग प्रदान गर्ने कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् ।

उनले प्रत्येक समुदाय, टोल, कुच र गुठीमा आ–आफ्नै किसिमका मूर्त र अमूर्त सम्पदाहरू रहेको उल्लेख गर्दै, मूर्त सम्पदा शरीर जस्तै भए पनि त्यसमा आत्मा दिने काम अमूर्त सम्पदाले गर्ने बताइन् ।

‘मूर्त सम्पदाको सास, आत्मा जीवित अमूर्त सम्पदाले बनाउँछ,’ उनले भनिन्, ‘अमूर्त सम्पदाको निकै नै महत्वपूर्ण पाटो भनेको हाम्रो संगीत हो । सामाजिक, सांस्कृतिक, धार्मिक वा राजनीतिक अभियान जहाँ पनि, विशेष गरी काठमाडौं महानगरभित्र नेवार समुदायका बाजाहरूको भूमिका निकै महत्वपूर्ण छ ।’

उनले बाजाहरूलाई केवल लय र संगीतको प्रतीक मात्र नभई समुदायको आवाजको रूपमा पनि व्याख्या गरिन् । ‘बाजाहरू बजुन्जेलसम्म नेवार समुदायको सबैको आवाज रही रहन्छ,’ उनले भनिन् ।

उपप्रमुख डंगोलले पुस्तौंदेखि चलिआएका सीप र ज्ञानलाई पुस्तान्तरण गर्दै संस्कृति संरक्षणमा ध्यान दिन आवश्यक रहेको उल्लेख गरिन् ।

उनले परम्परागत टोल, गुठी र खलःहरूले समुदायको पहिचान झल्काउने काम गरिरहेको भन्दै पर्व, बाजा र जात्रामार्फत सांस्कृतिक निरन्तरताको सुनिश्चितता हुने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + sixteen =