उड्ने होइन, धर्ती सुहाउँदो कानुन बनाउनुपर्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा कानुन निर्माण प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन् । उनले ‘उड्ने’ अर्थात् अव्यावहारिक कानुन बनाउने प्रवृत्ति त्यागेर ‘धर्ती सुहाउँदो’ अर्थात् व्यवहारिक र कार्यान्वयनयोग्य कानुन बनाउनुपर्नेमा जोड दिएका हुन् ।
शुक्रबार सिंहदरबारमा बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अध्यक्ष साहले कानून निर्माण गर्दा वस्तुवादी र सर्वस्वीकार्य हुनुपर्ने बताए । उनले उत्कृष्ट संविधान र कानुन हुँदैमा मात्र नागरिकले अधिकार नपाउने भन्दै तिनको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती रहेकोतर्फ ध्यानाकर्षण गराए ।
संविधानमा व्यवस्था गरिएका ३१ वटा मौलिक हकहरू कार्यान्वयन हुन नसकेको भन्दै उनले आक्रोश व्यक्त गरे । उनले भने, ‘हाम्रो संविधानमा ३१ वटा मौलिक हक छ, जुन दुनियाँका कयौँ संविधानमा छैनन् । तर विडम्बना, कार्यान्वयन एउटा पनि हुन सकेको छैन । हामीले यो यथार्थको हेक्का राख्नुपर्छ ।’
अध्यक्ष साहले थपे, ‘हामीले कानुन बनाउँदा उड्ने होइन, धर्तीलाई सुहाउँदो बनाउनुपर्छ । त्यो वस्तुवादी हुनुपर्छ, सबैलाई स्वीकार्य हुनुपर्छ र सबैले अपनत्व महसुस गर्न सक्नुपर्छ । हामीले व्यवहारिक भएर सोच्नु अत्यावश्यक छ ।’
यसै क्रममा अध्यक्ष साहले संसदीय समितिका बैठकहरूलाई व्यवस्थित र परिणाममुखी बनाउन स्पष्ट कार्यतालिका बनाएर अघि बढ्न पनि समितिको ध्यानाकर्षण गराए ।








