स्पेन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कँदै प्रधानमन्त्री ओली, मेड्रिडबाट दोहा प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सफल सहभागिता सुनिश्चित गर्दै स्वदेश फर्कँदै छन् । स्पेनको म्याड्रिडमा सम्पन्न सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत असार १४ गते त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली आज अपराह्न ३:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।

स्पेन बसाइका क्रममा प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ताहरूमा सक्रियता जनाए । उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजसँग महत्त्वपूर्ण द्विपक्षीय वार्ता गरे । भेटहरूमा आपसी हित, विकास साझेदारी र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको भूमिकाबारे गहन छलफल भएको थियो ।

यसैगरी, इस्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग पनि उनले भेट गरी आपसी हित र सहयोगका विविध पक्षमा विचार-विमर्श गरे । सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले मूल समारोहलाई सम्बोधन गर्दै विकासशील राष्ट्रहरूका लागि वित्तीय पहुँच र सहायताको महत्त्वमाथि प्रकाश पारेका थिए । उनले अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गर्दै समूहको साझा आवाजलाई सशक्त रूपमा प्रस्तुत गरे, जुन नेपालका लागि महत्त्वपूर्ण कूटनीतिक सफलता मानिएको छ ।

यसका अतिरिक्त, ‘विकास सहायतामा नयाँ सोच’ सम्बन्धी उच्चस्तरीय छलफललगायत विभिन्न सत्र र ‘साइड इभेन्ट’हरूमा उनको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सक्रिय सहभागिता रह्यो । आफ्नो व्यस्त कार्यतालिकाका बीच प्रधानमन्त्री ओलीले म्याड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल म्याड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको भ्रमण गरेका थिए । साथै, उनले स्पेनस्थित नेपाली दूतावासको निरीक्षण गर्नुका साथै त्यहाँ रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गरी उनीहरूका समस्या र अपेक्षाबारे जानकारी लिएका थिए । सूचना तथा प्रसारण विभागका अनुसार प्रधानमन्त्री ओली गएराति नै म्याड्रिडबाट कतारको दोहा हुँदै काठमाडौंका लागि प्रस्थान गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 12 =